काठमाडाैं । सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । डिडिसीले भाेलिदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाएकाे हाे ।
यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेको थियाे । अब एक लिटर दूधकाे मूल्य प्रतिलिटर ८५ रूपैयाँ पुगेकाे छ । डिडिसीकाे बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रूपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो ।
बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर हेटौंडा र जनकपुरमा प्रतिलिटर ८५ रूपैयाँ, बुटवल र भैरहवामा प्रतिलिटर ८१ रूपैयाँ तथा नेपालगञ्ज र धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रूपैयाँ कायम भएकाे छ ।
यसअघि काठमाडौँमा प्रतिलिटर ७६ रूपैयाँ, बुटवल र भैरहवामा ७२ रूपैयाँ तथा नेपालगञ्ज क्षेत्रमा ७० रूपैयाँ थियाे । बढेको नयाँ मूल्यअनुसार प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसान तथा दुई रूपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन् । यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो ।
त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डिडिसीले जनाएको छ ।

