२०८३, कार्तिक १३ गते शुक्रबार

पश्चिमी वायुको प्रभाव बढ्यो, आजदेखि फेरि वर्षा–हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव बढ्यो, आजदेखि फेरि वर्षा–हिमपातको सम्भावना


  • मेरोभ्यूज
  • माघ २६, २०७८ बुधबार

  • पश्चिमी वायुको प्रभाव बढ्यो, आजदेखि फेरि वर्षा–हिमपातको सम्भावना
    फाइल फोटो: काठमाडौंको चन्द्रागिरीमा परेको हिउँ ।

    काठमाडौं । पश्चिमी वायुको प्रभाव बढेपछि केही दिन सुधार देखिएको मौसममा फेरि परिवर्तन आउने भएको छ । आज, भोलि र पर्सी धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि कम्तीमा शुक्रबारसम्म देशका धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो।

    महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

    देशभर मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

    पुनः पश्चिमी न्यून चापीय प्रणाली विकास भएकाले विशेषगरी दुई दिन अर्थात् बुधबार र बिहीबार मौसम बदली, वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसमविद्को भनाइ छ ।

    आगामी ३ दिनको मौसम अनुमान :

    माघ २६ गते बुधबार

    दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीलगायत बागमती र प्रदेश नं १ का पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ २७ गते बिहीबार

    दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ २८ गते शुक्रबार

    दिउँसो : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।​


    प्रकाशित : बुधबार, माघ २६ २०७८०७:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार