चितवन । लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ । चितवनको ३ वटा स्थानीय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।
भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैं लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
मंगलबार (भोली) देखी स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने जानकारी दिँदै उनले विवादरहित तरिकाबाट सहकार्य गर्न नगरप्रमुखसँग आग्रह गरे । आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गर्ने तयारी गरेकाे छ ।
एउटा टोलीमा १ जना सर्वेक्षक र एक जना अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताए ।
भरतपुर महानगरपालिकामा मात्र १० हजार २९, कालिका नगरमा ५ हजार ५५९ र माडी नगरमा ५ हजार ४५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् । स्थलगत क्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहालले चुनावी अभियानका क्रममा आफूहरुले बोलेको वाचा पूरा गर्न भूमि आयोगका अधयक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताइन्।

