भोजपुर । भोजपुरको पौवादुङ गाउँपालिका–५, सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । त्यस क्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।
पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए ।
स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
ऐतिहासिक महत्त्व बोकेको दुङमागढीको विकास तथा संरक्षणमा पालिकाले जोड दिइरहेको अध्यक्ष राईको भनाइ छ ।
“दुङमागढी एउटा ऐतिहासिकस्थल हो”, अध्यक्ष राईले भने, “यो हाम्रो गाउँपालिकाको पहिचान पनि हो । यसको संरक्षणसँगै पर्यटनसँग जोड्ने लक्ष्य स्थानीय सरकारले लिएको छ ।”
यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका ठाउँको पहिचान र पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
त्यस गढीमा पर्यटकीय सम्भावना रहेकाले प्रचार-प्रसारमा ध्यान दिइएको उनले जानकारी दिए ।
“दुङमागढीमा पर्यटकको आगमन बढाउन सकिए स्थानीयस्तरमा रोजगार सिर्जनासँगै गाउँको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ”, उपाध्यक्ष राईले भने, “यो क्षेत्रको विकासका लागि न्यूनतम पूर्वाधार निर्माणका साथै प्रचार-प्रसारलाई पनि तीव्रता दिएका छौँ ।”
प्राकृतिक सुन्दरताले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज र मनोरम दृश्य अवलोकन गर्ने मानिसको उपस्थिति बढ्दै गएको छ ।
त्यस क्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलासँगै समथर फाँटले आगन्तुकको मन लोभ्याउने गरेकामा पूर्वाधार निर्माणपछि अझ बढी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भइरहेको स्थानीयको भनाइ छ ।

