२०८३, कार्तिक १३ गते शुक्रबार

पातपतिङ्गरबाट प्राङ्गारिक मल

पातपतिङ्गरबाट प्राङ्गारिक मल


  • मेरोभ्यूज
  • भाद्र २३, २०८३ मंगलबार

  • पातपतिङ्गरबाट प्राङ्गारिक मल

     

    गोरखा । जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेका छन् । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरुआत गरेको हो ।

    गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं. ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेका हुन् ।

    डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेका हुन् ।

    कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत शिशिर लम्सालले बताए । यस्तै, वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिए ।

    कार्यालयको बायोमासमा आधारित प्राङ्गारिक मल उत्पादन कार्यक्रमअन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरिएको अधिकृत लम्साल बताउँछन् । कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलँदै गएको मिचाहा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा सहयोग पुऱ्याउने उनले बताएका छन् ।

    “वनमारा लगायत मिचाहा प्रजाति व्यवस्थापन र रैथाने प्रजातिको संरक्षणमा कार्यक्रमले सहयोग पुऱ्याउँछ”, उनले भने । यसैगरी, प्राङ्गारिक मलको उत्पादनले रासायनिक मलको अभावलाई केही हदसम्म परिपूर्ति गरेर कृषि र वनको सम्बन्ध स्थापित गर्ने तथा जैविक कृषि प्रवर्द्धन गर्ने वन अधिकृत लम्सालको भनाइ छ ।

    कार्यक्रमअन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पातपतिङ्गरहरू (वनमारा, झाडी, पात, काठको टुक्रा) सङ्कलन गर्छ ।

    सङ्कलन भएका उक्त सामग्रीहरूलाई पाँचदेखि आठ फिट चौडाइ र तीनदेखि पाँच फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ ।

    मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया अपनाएर आठदेखि १२ हप्ताभित्र उच्च गुणस्तरको प्राङ्गारिक मल तयार हुने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए ।

    उनका अनुसार कार्यक्रमले मिचाहा प्रजातिको व्यवस्थापन, डढेलो नियन्त्रण तथा सामुदायिक वनको आयआर्जनमा ठूलो टेवा पुर्याउनेछ ।


    प्रकाशित : मंगलबार, भाद्र २३ २०८३०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार