२०८३, कार्तिक १३ गते शुक्रबार

केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी


  • मेरोभ्यूज
  • भाद्र १०, २०८३ बुधबार

  • केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

     

    खोटाङ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरिन् ।

    कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिइन् ।

    एलिना र दिनेशका दुई सन्तान (छोरा र छोरी) छन् । विवाहलगत्तै लगातार दुई सन्तानलाई जन्म दिएका एलिना र दिनेशका छोरा कक्षा–३ मा तथा छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् ।

    एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई निरन्तरता दिएकी एलिनाले यस वर्ष २.८४ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गरेकी छन् ।

    विवाह बन्धनमा बाँधिएका कारण बीचैमा पढाइ छाडेकी एलिनाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाट कक्षा–१२ उत्तीर्ण गरेकी हुन् ।

    एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, देवका राईले २.६२ जिपिए र सुस्मिता राईले २.३३ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गरेको पृथ्वी माध्यमिक विद्यालयका शिक्षक दिनेशकुमार राईले जानकारी दिए ।

    एलिनासहित चार विवाहित महिलाले केपिलासगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बुहारी शिक्षा’ कार्यक्रमअन्तर्गत कक्षा–१२ उत्तीर्ण गरेका हुन् ।

    केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित रेनुका माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेकी देवकाले वडा नं–७ सुङ्देलमा विवाह गरेकी हुन् । एक छोरालाई जन्म दिएपछि देवकाले आफ्नो पढाइलाई निरन्तरता दिइन् ।

    केपिलासगढी गाउँपालिका–३ बाक्सिला स्थायी घर भएकी शिक्षाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाटै एसइई उत्तीर्ण गरेको थियो । शिक्षाले दुई छोरालाई हुर्काउँदै आफ्नो पढाइलाई निरन्तरता दिइन् ।

    ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलमा जन्मेकी सुस्मिताले सोही ठाउँको कालिका माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेको थियो ।

    केपिलासगढी गाउँपालिका–३ बाक्सिलामा विवाह गरेर एक छोरा र एक छोरीलाई जन्म दिएपछि सुस्मिता पुनः विद्यार्थी जीवनमा फर्किएकी हुन् ।

    सात वटा वडा रहेको यो गाउँपालिकामा शैक्षिक सत्र २०७९/८० देखि शुरु भएको उक्त कार्यक्रम छोटो समयमै प्रभावकारी बन्दै गएको पाइएको छ ।

    गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न वडाका १२ विवाहित महिलाले सेवा लिइसकेका गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।

    बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्ने र त्यस्ता इच्छुक बुहारीलाई कक्षा–१२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोसाक, स्टेशनरीलगायतमा गाउँपालिकाले सहयोग उपलब्ध गराउँदै आएको छ ।

    गाउँपालिकाले कार्यपालिकाको बैठकमार्फत बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रमुख खनालले बताए ।

    पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख समिर राईले बताए ।

    “घरमा आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । त्यही भएर बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याएका हौँ”, उनले भने, “महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाज परिवर्तन सम्भव छ । कक्षा–१२ उत्तीर्ण गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफैँ अघि बढ्लान् । गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको सेवा लिएर समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षासहित बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।”

    गाउँपालिकामा सामुदायिकतर्फ एक प्रस्तावितसहित आठ माध्यमिक विद्यालय सञ्चालनमा छन् । पढ्न इच्छुक बुहारीले गाउँपालिकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको प्रमुख राईले बताए ।

    घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क अभ्यास कक्षाको व्यवस्थासमेत मिलाइएको छ ।

    पढ्न इच्छुक बुहारीको तथ्याङ्क र आवेदन सङ्कलनका लागि गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ ।


    प्रकाशित : बुधबार, भाद्र १० २०८३१०:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार