२०८३, कार्तिक १३ गते शुक्रबार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता


  • मेरोभ्यूज
  • भाद्र ९, २०८३ मंगलबार

  • शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता

     

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेको छ ।

    सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो ।

    भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारको काम अघि बढाइरहेको जानकारी दिए ।

    उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको र सुधार गर्नुपर्ने विषयलाई पनि समेटिने  बताए ।

    मन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको छ ।

    प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी विद्यमान द्विविधा अन्त्य, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको उनले जनाए ।

    मन्त्रालयले अघि सारेका शिक्षा क्षेत्रका सुधारका विषयमा उपयुक्त सन्दर्भमा इयूसँग सहकार्य गर्न तयार रहेको मन्त्री पोखरेलले उल्लेख गरे ।

    उनले प्रारम्भिक बाल विकास (इसिडी) का शिक्षकलाई प्रारम्भिक अटिजम पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम दिने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिए । यस क्षेत्रमा इयूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने विश्वाससमेत उनले व्यक्त गरे ।

    भेटका क्रममा इयूका राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य इयूका लागि महत्वपूर्ण प्राथमिकतामध्ये एक रहेको बताए ।

    उनले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    राजदूत लोरेन्जोले इयूले नेपालको शिक्षा क्षेत्रको सन् २०२८ देखि २०३४ सम्मको सुधारका लागि आवश्यक फ्रेमवर्कमा काम गरिरहेको जानकारी दिए ।

    विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्न इयू तयार रहेको उनले बताए ।


    प्रकाशित : मंगलबार, भाद्र ९ २०८३११:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार