२०८३, कार्तिक १३ गते शुक्रबार

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटर हेर्न कारखानामा अर्थमन्त्री: निर्मातालाई सन्देश - अघि बढ्नुहोस्, सरकार साथमा छ

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटर हेर्न कारखानामा अर्थमन्त्री: निर्मातालाई सन्देश - अघि बढ्नुहोस्, सरकार साथमा छ


  • मेरोभ्यूज
  • भाद्र ८, २०८३ सोमबार

  • नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटर हेर्न कारखानामा अर्थमन्त्री: निर्मातालाई सन्देश - अघि बढ्नुहोस्, सरकार साथमा छ

     

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएको छ ।

    सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर 'यात्री पीटू' बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएको हो ।

    “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” अर्थमन्त्री डा. वाग्लेले भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला । अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ ।”

    नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए ।

    “एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस् । सरकारले के-के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा फैलन अरू के-के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,” अर्थमन्त्री डा. वाग्लेले भने, “नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु ।”

    नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उनले दिए ।

    नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गरे ।

    सो क्रममा अर्थमन्त्री डा.वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर (यात्री पीटू) को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराएको थियो ।

    यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए ।

    दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसका केही विशेषता विश्वमै नभएको उच्चस्तरीय र विशिष्ट हुनु नयाँ सफलता भएको उनको भनाइ छ ।

    नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भूभागहरूमा सफल परीक्षणपछि यस्तो स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले बताए ।

    दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर भएको स्कुटर नेपालमा निर्माण हुनु विश्वकै पहिलो सफलता भएको कम्पनीका अधिकारीहरूको दाबी छ ।

    प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताए ।

    केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कुटर अहिलेलाई भने गोप्य राखिएको छ ।

    नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकेर नेपाल फर्किएका असिम पाण्डेले २०१७ मा विद्युतीय मोटरसाइकल बनाउने भन्दै स्टार्टअप कम्पनी 'यात्री मोटरसाइकल' खोलेका थिए ।

    सोही कम्पनी अहिले भने नेपालको अग्रणी गाडी बिक्रेता कम्पनी 'सिप्रदी ट्रेडिङ'सँगको व्यावसायिक सहकार्यमा 'सिप्रदी यात्री' बनेको छ । यही कम्पनीले पहिलो पटक नेपालमै आफ्नै डिजाइन, इन्जिनियरिङ र भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय दुईपांग्रे स्कुटर 'यात्री पीटू' निर्माण गरेको हो ।


    प्रकाशित : सोमबार, भाद्र ८ २०८३०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार