झापा । झापाको पूर्व-उत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन ।
बर्सेनी धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् ।
तथापि, यही चुनौतीका बीच सुपारी खेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।
विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारी खेती विस्तार हुँदै गएको छ ।
अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो ।
बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार एक पटक बगान स्थापना गरेपछि सुपारीले ४० देखि ५० वर्षसम्म उत्पादन दिन सक्छ ।
नियमित सिँचाइ, मल व्यवस्थापन र सामान्य हेरचाह गरे पुग्ने भएकाले श्रम लागत अन्य नगदेबालीको तुलनामा कम पर्ने उनको भनाइ छ । जसका कारण उत्तरी झापाका कृषक सुपारी खेतीतर्फ आकर्षित छन् ।
झापामा सुपारी खेतीको सबैभन्दा ठूलो केन्द्र बुद्धशान्ति गाउँपालिका मानिँदै आएको छ ।
गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का किसानको सुपारी खेती घरघरको आम्दानीसँग जोडिएको छ । वडाध्यक्ष वाग्लेका अनुसार गाउँपालिकाका अधिकांश कृषक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारी खेतीमा निर्भर छन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा सुपारी खेतीको योगदान उल्लेखनीय रहेको बताउँछन् ।
उनका अनुसार सुपारीबाट नगद आम्दानी हुने भएकाले कृषकको जीवनस्तरमा सुधार आएको छ ।
वैदेशिक रोजगारीमा जाने युवामध्ये केही यही खेतीतर्फ फर्किन थालेका छन् ।
हात्तीको नियमित ओहरदोहर हुने क्षेत्र भएकाले धेरै कृषकले धान वा मकैभन्दा सुपारीलाई सुरक्षित विकल्पका रूपमा रोजेको गाउँपालिका अध्यक्ष प्रसाईंको भनाइ छ ।
अर्जुनधारा र मेचीनगरमा विस्तार
अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा सुपारी खेती विस्तार भइरहेको छ ।
स्थानीय कृषि प्राविधिकका अनुसार यी दुई पालिकाका करिब ४० प्रतिशत कृषक कुनै न कुनै रूपमा सुपारी उत्पादनसँग आबद्ध छन् ।
हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मकरूपमा कम नोक्सानी हुने अनुभव कृषकहरूले गरेका छन् । यही कारण पछिल्ला वर्षमा नयाँ बगान स्थापना गर्ने क्रम बढेको छ ।
बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह र दमक नगरपालिकामा करिब २० प्रतिशत कृषकले सुपारी खेती गर्दै आएका छन् ।
सुपारीका बिरुवाको माग बढेसँगै ती क्षेत्रमा व्यावसायिक नर्सरीसमेत सञ्चालनमा आएका छन् ।
पछिल्लो समय पूर्व-पश्चिम महेन्द्र राजमार्ग दक्षिणका कृषकले सुपारी खेती रुचाएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।
सुपारी खेतीको सबैभन्दा ठूलो विशेषता यसको दीर्घकालीन उत्पादन हो उनले भने, “बिरुवा रोपेको केही वर्षपछि नियमित उत्पादन शुरु हुन्छ र दशकौँसम्म आम्दानी दिइरहन्छ, जसका कारण सुपारी खेतीमा झापाका कृषक आकर्षित हुने गरेका छन् ।”
बुद्धशान्ति-५ का कृषक गजाधर पौडेलले १६ कठ्ठा क्षेत्रफलमा करिब छ सय सुपारीका बिरुवा लगाएका छन् । तीमध्ये करिब पाच सय बिरुवाले उत्पादन दिइरहेका छन् ।
उनका अनुसार वार्षिक करिब रु. दुई लाख ५० हजार बराबरको सुपारी बिक्री हुने गरेको छ ।
अन्य बालीको तुलनामा सुपारी खेतीमा श्रम कम लाग्ने भएकाले यसबाट राम्रो प्रतिफल प्राप्त भइरहेको उनको अनुभव छ ।
जिल्लाका कतिपय कृषकले ठूलो क्षेत्रफलमा सुपारी खेती गरी वार्षिक रु. आठदेखि दस लाखसम्म आम्दानी गरिरहेको बताइन्छ ।
सुपारीसँगै अन्तरबाली
झापाका कृषकले सुपारीको बगानमा अदुवा, बेसार, कफी, केरा, तरकारी, खुर्सानी तथा अन्य नगदेबाली अन्तरबालीका रूपमा उत्पादन गर्दै आएका छन् ।
यसले एउटै जग्गाबाट वर्षभरि विभिन्न स्रोतबाट आम्दानी हुने वातावरण सिर्जना गरेको छ ।
सुपारीको बोटबीचको खाली स्थान सदुपयोग गर्न सकिने भएकाले उत्पादन लागत घट्ने र आम्दानी बढ्ने गरेको छ ।
सुपारी खेती विस्तारसँगै बिरुवाको माग बढेको छ । बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा व्यावसायिक नर्सरी सञ्चालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ ।
बुद्धशान्तिका कृषक आयुष निरौलाका अनुसार सुपारीको नर्सरी सञ्चालन गरेर पनि यहाँका युवाले राम्रो आयआर्जन गरिरहेका छन् । आफू स्वयं जापान जान लागेको थिएँ ।
उनले भने, “सुपारी खेतीप्रति कृषकको झुकाव देखेपछि आम्दानी गर्न सकिने अठोटका साथ नर्सरी स्थापनामा लागेको हुँ, अहिले मनग्य आम्दानी भइरहेको छ ।”
बुद्धशान्ति-५ का कृषक चुडामणि न्यौपानेले सुपारीको नर्सरी सञ्चालनसँगै स्थानीयस्तरमै सुपारी प्रशोधन गर्दै आएका छन् ।
आधुनिक प्रशोधन प्रविधिको अभावका कारण गुणस्तरीय उत्पादनमा चुनौती रहेको उनको भनाइ छ ।
उनले सरकारले प्रशोधन प्रविधि, रोग पहिचान, प्राविधिक सेवा तथा निर्यात प्रक्रियामा सहजीकरण गरिदिए सुपारी नेपालको महत्त्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने बताउँछन् ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८० असारमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर चार हजार एक सय १९ हेक्टर क्षेत्रफलमा सुपारी खेती गरिएको छ ।
त्यसमध्ये चार हजार १९ हेक्टर उत्पादनशील क्षेत्र रहेको छ । प्रतिहेक्टर औसत ३.६४ मेट्रिक टन उत्पादन हुने मन्त्रालयको तथ्याङ्क रहेको छ ।
झापासम्बन्धी पछिल्लो विस्तृत सरकारी तथ्याङ्क उपलब्ध नभए पनि विगतका अध्ययनले जिल्लामा करिब दुई हजार हेक्टर क्षेत्रफलमा सुपारी खेती हुने गरेको देखाएको छ । कृषक र व्यवसायीका अनुसार पछिल्ला वर्षमा यो क्षेत्रफल अझ विस्तार भएको छ ।
झापामा सुपारी उत्पादन बढे पनि प्रशोधन र बजारीकरणमा भने कृषकले विभिन्न समस्या भोग्दै आएका छन् ।
झापामा सुपारी प्रशोधन गर्ने सहकारी तथा निजी उद्योग स्थापना भए पनि आधुनिक प्रविधि पर्याप्त छैन ।
बुद्धशान्ति-१ स्थित श्रीकृष्ण सुपारी सहकारी संस्थाले वार्षिक करिब चार सय क्विन्टल प्रशोधित सुपारी बिक्री गर्ने गरेको जनाएको छ ।
सहकारीका पदाधिकारीका अनुसार बजारको माग स्थिर भए पनि गुणस्तरीय प्रशोधन उपकरण र निर्यात सहजीकरणको अभावले प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन भइरहेको छ ।
कृषकहरूले भारतलगायतका बजारमा निर्यात प्रक्रियालाई सहज बनाउन तथा आधुनिक सुकाउने मेसिन, ग्रेडिङ र प्याकेजिङ प्रविधिमा सरकारी लगानी आवश्यक रहेको बताएका छन् ।
सुपारी खेतीको व्यवसायीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्यक्रम सञ्चालनमा छ ।
यसअन्तर्गत सिँचाइ, नर्सरी व्यवस्थापन, प्रशोधन उपकरण, कृषक तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यसअघि ‘एक जिल्ला–एक उत्पादन’ कार्यक्रमअन्तर्गत झापालाई सुपारी उत्पादनको जिल्ला घोषणा गरिएको थियो ।
त्यसपछि ‘एक गाउँ-एक उत्पादन’ कार्यक्रममार्फत सुपारी खेती विस्तार गर्ने प्रयास भएको छ ।
जलवायु, माटो र पर्याप्त वर्षाका कारण झापा सुपारी उत्पादनका लागि नेपालको सबैभन्दा उपयुक्त जिल्लामध्ये एक हो ।
हात्ती प्रभावित क्षेत्रमा अन्य बाली बारम्बार नष्ट भइरहेका बेला सुपारीले कृषकलाई स्थिर नगद आम्दानी दिएको छ ।
यद्यपि उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, गुणस्तर मापदण्ड, निर्यात तथा कृषि बिमामा प्रभावकारी नीति लागू गर्न सके सुपारी झापाको मात्र नभइ नेपालको महत्त्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने सम्भावना देखिएको छ ।
बुद्धशान्ति-२ निवासी सुपारी कृषक रामप्रसाद उप्रेतीले ४० वर्षअघि लगाएको सुपारीले निरन्तर आम्दानी दिइरहेकाले अहिले आठ बिघा क्षेत्रफलमा सुपारी खेती गर्दै आएको बताए ।
यहाँ उत्पादित सुपारी राज्यका तर्फबाट तेस्रो मुलुक पुर्याउन पहल गरिदिने हो भने झापावासीको मुख्य आम्दानीको स्रोत नै सुपारी बन्ने उनको भनाइ छ ।
आफूले पछिल्लो समय बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेको बताए ।
बुद्धशान्ति-४ का कृषक रुद्रबहादुर भण्डारीले सुपारीको विरुवा उत्पादन गरेर अहिले मनग्य आम्दानी गरिरहेका छन् ।
उनले भण्डारी मल्टीप्रपोज एग्रो फार्म नै सञ्चालन गरेर सुपारीका बिरुवा उत्पादन र बिक्री वितरण गर्दै आएका छन् ।
वन्यजन्तुबाट हुने क्षतिको जोखिम न्यून भएका कारण सुपारी खेती अहिले झापाका हात्ती प्रभावित क्षेत्रका कृषकका लागि केवल वैकल्पिक बाली मात्र होइन, दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ ।

