२०८३, कार्तिक १३ गते शुक्रबार

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी


  • मेरोभ्यूज
  • भाद्र ४, २०८३ बिहीबार

  • बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

     

    बैतडी । घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् ।

    बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टसँग ५० घार मौरी छन् । पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन् । स्थानीय बजार र जिल्लाबाहिर पनि मह बिक्री हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको विष्ट बताउँछन् । “लामो समयदेखि मौरीपालन गरेको हुँ । व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्याएको छु । घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु”, विष्टले भने ।

    युवापुस्ता रोजगारीको खोजीमा विभिन्न मुलुकतिर गएका बेला विष्ट भने मौरीपालन व्यवसायमा रमाईरहेका छन् । मह बेचेर नै उनले घरपरिवार धानिरहेका छन् । बजारको कुनै समस्या छैन । स्थानीय बजारमै १५ सय रूपैयाँ प्रति किलो मह बिक्री हुने गरेको छ । वर्षमा अढाइदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । “चैत–वैशाखको बीचमा एकपटक र कात्तिक–मङ्सिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु, एकपटक निकाल्दा एक क्विन्टल बढी हुन्छ”, उनले भने, “हालसम्म उत्पादन हुँदै आएको महले बजार पनि पाइरहेको छ ।”

    आम्दानीको राम्रो सम्भावना भए पनि परम्परागत तरिकाले मौरीपालन गरिरहेकाले मौरी जोगाउन निकै कठिन हुने गरेको छ । “आधुनिक घारहरू छैनन्”, नहाँले भने, “काठको परम्परागत घारहरूमा जङ्गली जनावर, मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ ।”

    पछिल्लो समयमा तरकारी खेतीमा प्रयोग हुने विषादीले चुनौती थपिएको विष्टले बताए । “मौरीहरू फूल फुलेको ठाउँमा पुग्छन् । तरकारी खेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन् ।” उनले भने । उनी मौरीपालनसँगै बाख्रापालनमा पनि व्यस्त छन् ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र ४ २०८३०९:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार