२०८३, कार्तिक १३ गते शुक्रबार

नौमती बाजा जोगाउँदै आमाहरू

नौमती बाजा जोगाउँदै आमाहरू


  • मेरोभ्यूज
  • भाद्र ३, २०८३ बुधबार

  • नौमती बाजा जोगाउँदै आमाहरू

     

    काठमाडौँ । बुबाले नौमती बाजा बजाएको देख्दा सरिता परियारको बाल मनस्थितिमा आफूले पनि सिक्न पाए हुन्थ्यो भन्ने इच्छा पलाएको थियो । त्यतिबेला उनले बुबाको तीतो जवाफ पाए, “महिलाले बाजा छुनु हुँदैन ।” “छोरीले बाजा छुनु अशुभ हुन्छ”, भन्ने जवाफ पाएपछि सरिताको मन खुम्चिएको थियो तर समयले सबै फेरिदिन्छ ।

    बाल्यकालमा महिलाले बाजा छुन नहुने भन्दै सुन्दै आएकी सरिता अहिले नौमती बाजा संरक्षण गर्ने अभियानमा जुटेकी छिन् । यतिमात्रै होइन, बाजाको संरक्षणसँगै आयआर्जनसमेत गर्दै आएकी छिन् । उनि भन्छिन्, “बुबाले छुनुहुन्न भन्थे, अहिले हामीले नबजाए नौमती बाजा लोप हुने स्थिति छ ।” तार्केश्वर–७ पुटुङमा रहेको ‘लोक संस्कृति महिला नौमती बाजा समूह’मा सरिताजस्तै आमाहरू मिलेर नौमती बाजाको संरक्षण र प्रवर्द्धनमा सक्रिय हुँदै आएका छन् । समूहको उपाध्यक्षसमेत रहेकी सरिताले बाजा समूहमा लागेपछि आफ्नो जीवनशैली नै फेरिएको बताउँछिन् ।

    काठमाडौँको चन्द्रागिरिमा जन्मेकी उनले थानकोटभन्दा बाहिर कहिल्यै गएकी थिइनन् । घर, चुलोचौको र परिवारको जिम्मेवारीले उनलाई घुम्ने र बाहिरी दुनियाँ बुझ्ने अवसर हराएको थियो तर जब उनि २०७६ सालमा बाजा समूहमा आबद्ध भइन्, त्यसपछि सरिता बाजा बजाउँदै काठमाडौँ बाहिरका जिल्लासमेत पुगेकी छिन् । “बाजा बजाउन नसिकेको भए, काठमाडौँ बाहिर देख्नै पाउँथिन होला”, उनि भन्छिन्, “एकातिर संस्कृति जोगिने अर्कातिर आयआर्जन र आत्मविश्वास बढ्ने हुँदा अहिले निकै खुसी छु ।” सरिता नौमती बाजामा सनही, दमाह, झ्याली, टेम्को प्रायः सबै बाजा बजाउन दक्ष छिन् । श्रीमान् र छोराछोरीको सहयोगले गर्दा नौमती बाजा बजाउन सफल भएको उनले सुनाइन् ।

    सामाखुसी बस्ने अम्बिकाका लागि नौमती बाजा बजाएर स्वावलम्बी बन्नु त्यति सजिलो थिएन । उनले सुरुमा श्रीमानको अनुमति पाउनै निकै सङ्घर्ष गर्नुपरेको थियो । राति ढिलासम्म बजाउनुपर्ने, घर छाडेर बाहिर जानुपर्ने हुँदा बाजा बजाउने काम गर्नु हुँदैन भन्ने श्रीमानको धारणा थियो । “पछि विस्तारै उनलाई सम्झाउँदै गएपछि अहिले सजिलो छ”, उनले भनिन्, “आम्दानी भएपछि घरको खर्च उठाउन थालेपछि उनि पनि खुसी भइन् ।” अम्बिकाका अनुसार नौमती बाजा बजाएर घर बाहिर निस्किँदा सम्मानसहित उत्साह पनि थपिएको बताए । अहिले आफूलाई देखेर अरु दिदीबहिनीहरूले पनि बाजा सिक्ने रहर गर्न थालेको उनले सुनाइन् ।

    महिला भएकै कारण समाजको बन्देज चिरेर बाहिर काम गर्न सजिलो छैन । कतिपय समयमा राति ११:०० बजे आएर घरको भन्सा सम्हाल्नुपरेको पीडा उनिसँग छ । अम्बिका भन्छिन्, “मैले नपकाउँदासम्म श्रीमान् भोकै बस्थे । राति जतिबेला आएर भए पनि पकाएर खुवाउनुपथ्र्यो ।” महिलाले गर्ने सङ्घर्षमा बन्देज आउँछन् तर ती सबै बन्देज चिर्नसके समाज रूपान्तरण हुँदै जान्छ भन्ने अम्बिकाको भोगाइले बताउँछ । उनले चुनौतीलाई आत्मसात् गर्दै अघि बढेकै कारण अहिले पहिचान र सम्मानसहितको आयआर्जन गर्ने थलो नौमती बाजा समूह बनेको छ ।

    समूहकी कोषाध्यक्षसमेत रहेकी अम्बिका मङ्सिर, माघ, फागुन, वैशाख महिनामा नौमती बाजाको माग बढी हुने गरेको बताउँछिन् । आगामी मङ्सिरका लागि अहिलेदेखि नै ‘बुकिङ’ भइसकेको उनले सुनाइन् । उनले भनिन्, “वर्षभरिको कमाउने मुख्य समय भनेकै मङ्सिर महिना हो । यो बेला प्रायः एक दिन पनि फुर्सद हुँदैन ।” बाजा बजाउने क्रममा उनीहरू काठमाडौँ कटेर धरान, धनकुटा, बुटवल, पोखरा, पाल्पा, बुटवल लगायत पूर्वदेखि पश्चिमसम्म पुगेका छन् । अम्बिकाका अनुसार विवाह र व्रतबन्धका लागि एक दिनको ४० देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरिएको छ । यसबाहेक स–साना कार्यक्रमहरूमा समय र दूरीका आधारमा पारिश्रमिक लिने उनले बताइन् । “बाजा बजाउँदा नाम र सम्मान दुवै पाएका छौँ”, उनले भनिन् ।

    समूहकी अध्यक्ष पुनम भुसालले बाजा बजाएरै आफ्नो पहिचान स्थापित गर्न पाएको सुनाइन् । उनले सुरुका दिनमा बाजा जुटाउन र प्रशिक्षण पाउन निकै मिहिनेत गर्नुपरेको सम्झन्छिन् । सात वर्षअघि उनीहरूले बाजा बजाउन थाल्दाको समाज फरक थियो । भान्सामा डाडु र पन्यु समाउनेबाहेक महिलाले बाजा बजाउने कल्पना गर्न कठिन थियो । “तर, आँट गरे पनि सबै सम्भव हुँदोरहेछ”, उनले भनिन्, “सुरुमा झन्डै एक लाख व्यक्तिगत लगानी गरेर समूहमा बाजा सिक्न थालियो । पछि कमाउँदै सबै सदस्यले ऋण चुक्ता गर्यौँ । हामीजस्ता गृहिणी आमाहरूका लागि यो ठूलो उपलब्धि थियो ।” यद्यपि अब भने नौमती बाजाको संरक्षण गर्ने युवा पुस्ताको अभाव रहेको उनले सुनाइन् ।

    पुनमका अनुसार नौमती बाजा मात्रै व्यवसाय होइन । यसमा आबद्ध भएका महिलाहरूले सामाजिक संस्कृति जगेर्नामा दिएको योगदान पनि हो । तीन महिनाको तालिमपछि बाजा बजाउन पोख्त भएका महिलाहरू अहिले आत्मनिर्भर जीवन जिउन सफल भएको उनले सुनाइन् । महिला सशक्तीकरणको सूक्ष्म तर प्रभावकारी उदाहरण बनेको उनको बुझाइ छ । पुनम समूहमा सनही बनाउन दक्ष छिन् । आवश्यक परेको खण्डमा अरु बाजा पनि बजाउन उनी पोख्त छिन् ।

    विवाह, व्रतबन्ध, पूजा लगायत विभिन्न कार्यक्रमहरूमा समूहलाई निम्तो आउँछ । उनीहरू त्यही निम्तोको आधारमा निश्चित पारिश्रमिक लिएर बजाउन जान्छन् । संस्थाको सुरुवाती दिनमा महिला समूहले खोलेका बाजा बजाउने समूह कम थिए । अहिले यसको प्रतिस्पर्धा बढ्दै गएपछि पारिश्रमिक दर पनि विगतको तुलनामा घट्दै गएको समूहका अध्यक्ष पुनमले सुनाइन् । पुनमलाई बाजा बजाएर व्यवसायसँगै गाउँमा समाज सेवा गर्ने, सरसफाइ अभियानमा सरिक हुने र संस्कृतिको महत्त्व दर्शाउने भूमिका पूरा भएको छ ।

    नौमती बाजा बजाउने प्रशिक्षण दिँदै आएका ध्रुव नेपालीले पछिल्लो समय धेरै आमा समूह बाजा बजाउनमा उत्सुक भएको बताउँछन् । उनले गाउँघरमा पुगेर सयभन्दा बढी आमा समूहलाई नौमती बाजा र पञ्चेबाजा बजाउन सिकाएका छन् । उनले हालसम्म गोरखा, काठमाडौँ, धादिङ जिल्लाका सयभन्दा बढी महिलालाई बाजा बजाउने प्रशिक्षण दिएका छन् । धादिङ जिल्लामै १२५ महिलालाई बाजा बजाउन सिकाएको अनुभव उनको छ । गाउँघरमा युवापुस्ता कम छन् । भएका आमाहरूले नै प्रशिक्षण लिएर बाजा संरक्षणमा जुटेको प्रशिक्षक ध्रुवले सुनाए । उनले भने, “गाउँमा आमाहरू बाजा बजाउन सिक्ने इच्छा बढ्दै गएको छ । कतिपय सिकेर आत्मनिर्भरसमेत बनेका छन् ।”

    ध्रुवका अनुसार नौमती बाजामा दुईवटा सनही, दुईवटा नरसिंहा, दुईवटा दमाह, एक–एकवटा ढोलक, टेम्को र झ्याली पर्छन् । नौमती बाजा भनेको दोहोरो बाजा हो, जसमा पञ्चे बाजामा एक–एकवटा गरी पाँच प्रकारका बाजा हुन्छन् । प्रशिक्षक ध्रुवले नौमती बाजा परम्परागत रूपमा अत्यन्त महत्त्वपूर्ण रहेको बताए । यसलाई धनीहरूको रोजाइमा पर्ने बाजा पनि भन्ने गरिन्छ, जसले अलि धेरै रुपैयाँ खर्च गर्न सक्छ उसले नौमती बाजा बजाउने गरेको उनको अनुभव छ । “पहिला–पहिला नौमती बाजा बजाउन सक्नेलाई निकै धनी मानिन्थ्यो”, उनले भने, “नौमती बाजाको अहिले पनि उत्तिकै महत्त्व बढ्दो छ । तर यसलाई बजाउनेहरूको कमी हुँदै गएको छ ।” घरमा बसेका आमा र दिदीबहिनीले नै नौमती र पञ्चेबाजाको परम्परागत संस्कृति जोगाउँदै आएको उनले बताए ।

    -----


    प्रकाशित : बुधबार, भाद्र ३ २०८३०९:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार