२०८३, कार्तिक १३ गते शुक्रबार

स्याफ्रुबेँसी-रसुवागढीखण्डको स्तरोन्नती

स्याफ्रुबेँसी-रसुवागढीखण्डको स्तरोन्नती


  • मेरोभ्यूज
  • श्रावण ३१, २०८३ आइतबार

  • स्याफ्रुबेँसी-रसुवागढीखण्डको स्तरोन्नती

     

    रसुवा । स्याफ्रुबेँसी-रसुवागढीखण्डमा सडक स्तरोन्नती तीव्र गतिमा भइरहेको छ ।

    नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिकसम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नती थालिएको हो ।

    उक्तखण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ ।

    यसअघि पनि उक्त सडक चीन सरकारले निर्माण गरेको सडक विभागले जनाएको छ ।

    चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिएको आयोजनाका स्थलगत अनुगमनकर्ता एवं इन्जिनियर कुमार पराजुलीले बताए ।

    नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो आयोजना नेपाल–चीन सहकार्यको अर्को महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको उनको भनाइ छ ।

    इन्जिनियर पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ ।

    कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम शुरु भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङमा केही ढिलाइ भइरहेको उनले जानकारी दिए ।

    गत पुसदेखि शुरु भएको स्तरोन्नती हालसम्म करिब सात प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

    निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ ।

    आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज बनाएकाले दिनरात निर्माण सञ्चालन भइरहेको इन्जिनियर पराजुलीले बताए ।

    “नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरिसकेको छ । तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति समयमा प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको छ”, उनले भने ।

    करिब १६ किलोमिटर लम्बाइ रहेको स्याफ्रुबेँसी–रसुवागढीखण्डको स्तरोन्नती सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ ।

    सडक स्तरोन्नती सम्पन्न भएपछि नेपाल–चीनबीचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    यसैबीच टिमुरे क्षेत्रमा वि.सं. २०६५ मा अधिग्रहण गरिएको सडकको दायाँबायाँको क्षेत्रभित्र स्थानीय बासिन्दाले पुनःघरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजना कार्यालयले जनाएको छ ।

    गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको थियो ।

    विशेष गरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखो लगायतका क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नती कार्यलाई थप प्राथमिकता दिइएको इन्जिनियर पराजुलीले उल्लेख गरे ।

    नेपाल र चीनबीचको शताब्दीयौँ पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

    सडक स्तरोन्नतिसँगै रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने स्थानीय तथा सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन् ।


    प्रकाशित : आइतबार, श्रावण ३१ २०८३१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार