२०८३, कार्तिक १३ गते शुक्रबार

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल


  • मेरोभ्यूज
  • श्रावण २८, २०८३ बिहीबार

  • Sushmit Spokesperson Gov. 28a .jpg.jpeg

    काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग छलफल गरेको छ ।

    शिक्षा तथा खेलकूद मन्त्रालयमा हालै आयोजित छलफलमा सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिएको हो ।

    छलफलमा सहभागी विभिन्न सञ्चारमाध्यमका प्रधानसम्पादक तथा प्रतिनिधिहरूले प्रधानमन्त्री तथा अन्तरमन्त्रालयका गतिविधिसहित सरकारी निर्णय र सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।

    उनीहरूले मन्त्रालयले रणनीतिक महत्वका नीतिगत निर्णय गर्दा सरोकारवालासँग पर्याप्त छलफल र राय–सुझाव लिनुपर्ने बताए । यसबाट नीतिगत निर्णयको स्वीकार्यता, गरिमा र दिगोपना बढ्ने उनीहरूको भनाइ थियो ।

    शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक नीतिगत परिवर्तन गर्नुपर्नेमा समेत पत्रकारहरूले जोड दिएका थिए ।

    विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यवहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको उनीहरूले औंल्याए ।

    छलफलमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको बताए ।

    सरकार लोकतान्त्रिक प्रक्रिया र प्रणालीबाट आएको भन्दै उनले सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुने स्पष्ट पारे ।

    “वर्तमान सरकार एक्सनबाट होइन, प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो । त्यसैले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता रहन्छ,” मन्त्री पोखरेलले भने, “जनताको आशा र भरोसालाई साकार पार्न अहोरात्र खटिएका छौँ ।”

    उनले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई प्राथमिकता दिएको बताए ।

    विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्षरूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए ।

    मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मन्त्रालय र सञ्चारमाध्यमबीच बलियो तथा प्रभावकारी समन्वय कायम गर्दै सूचना प्रवाहलाई थप सहज बनाइने बताए ।

    विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउनुका साथै शिक्षा क्षेत्रको समग्र सुधारका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको उनले उल्लेख गरे ।

    कार्यक्रममा देश सञ्चार डटकमका सम्पादक तथा वरिष्ठ पत्रकार युवराज घिमिरेले सरकारी सूचना समयमै, सहज र पारदर्शी ढङ्गले सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने बताए ।

    हिमालय टेलिभिजन तथा अनलाइनखबरका समूह सम्पादक उमेश चौहानले जनताको भरोसा र जनमत प्राप्त सरकारले जनआकाङ्क्षा पूरा गर्दै शिक्षा क्षेत्रमा रहेका बेथितिलाई नीतिगतरूपमा सुधार गर्नुपर्ने जनाए ।

    सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले सरकारले कसरी काम गरिरहेको छ र के–कस्ता सुधार भइरहेका छन् भन्ने विषय आम नागरिकले सहजरूपमा जानकारी पाउनुपर्ने बताए ।

    अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सरकार र सञ्चारमाध्यमबीच निरन्तर छलफलले सूचनाको सहजता बढाउनुका साथै दुवैबीचको दूरी कम गर्न मद्दत पुग्ने जनाए ।

    कान्तिपुर दैनिकका प्रधानसम्पादक गोकर्ण अवस्थीले सूचना सहजरूपमा प्रवाह हुन नसके ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ को जोखिम बढ्ने बताए ।

    शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विश्वविद्यालयप्रतिको विश्वासलाई संस्थागतरूपमा बलियो बनाउन आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने जनाएका छन ।

    पत्रकार बिनु सुवेदीले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउँदै सूचना प्रवाह र जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने बताए ।

    द काठमाडौँ पोस्टका समाचार सम्पादक विनोद घिमिरेले सरकारी सूचना दिने प्रणालीलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिए । शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले छलफलको सहजिकरण गरेका थियो ।

     


    प्रकाशित : बिहीबार , श्रावण २८ २०८३१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार