२०८३, कार्तिक १३ गते शुक्रबार

‘लुहारेकोट’

‘लुहारेकोट’


  • मेरोभ्यूज
  • श्रावण २८, २०८३ बिहीबार

  • ‘लुहारेकोट’

     

    कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्त्व बढ्दै गएको हो ।

    कालीकोटको खाँडाचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा लुहारेकोट अवस्थित छ । लुहारेकोट क्षेत्रलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिने गरिएको छ ।

    सदरमुकामको सिरानीमा निर्माण गरिएको प्रतिमासहितको संरचनाले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछन् भन्ने सामाजिक अभियन्ता बाले विश्वकर्माले बताए ।

    “लुहार समुदायका अनुसार यस स्थलको वास्तविक नाम ‘लुहारेकोट’ हो । यसको ऐतिहासिक पहिचानलाई सम्मानपूर्वक संरक्षण गरिनुपर्छ”, उनले भने ।

    स्थानीयको मौखिक इतिहास, वंशावली र जनविश्वासका आधारमा लुहारेकोटले खाँडाचक्र क्षेत्रको इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको ठाउँ भएको खाँडाचक्र नगरपालिका–२ स्थित पञ्चदेव माध्यमिक विद्यालयका शिक्षक लक्षिराम विश्वकर्माले बताए ।

    “यस स्थलको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रचार-प्रसार गर्नु भावी पुस्ताका लागि आवश्यक देखिन्छ”, उनले भने ।

    “स्थानीय जनश्रुति, मौखिक इतिहास तथा लुहार समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको वंशावलीका आधारमा लुहारेकोट केवल एउटा भौगोलिक स्थान मात्र नभई लुहार समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित रहेको छ ।”

    यस स्थानको इतिहास लुहार समुदायका प्रथम पुर्खा मानिने शान्ति लुवारसँग जोडिएको र स्थानीय विश्वासअनुसार शान्ति लुवार नै लुहारेकोटका संस्थापक तथा यस क्षेत्रका प्रारम्भिक शासक भएको लक्षिरामले जानकारी दिए ।

    “त्यस समयमा लुहारेकोटको तल हालको मान्म बजार क्षेत्रमा लुहार समुदायको ठूलो बस्ती रहेको थियो । वर्तमान प्रतिमा चोकबाट पूर्वतर्फ लुहारेकोटसम्मको सम्पूर्ण भू-भाग लुहार समुदायको अधिनमा रहेको जनविश्वास छ”, उनले भने ।

    हाल जिल्ला अदालत तथा जिल्ला समन्वय समितिको कार्यालय रहेको क्षेत्र वरिपरि लुहारहरूको पुरानो बस्ती रहेको मानिन्छ । उक्त बस्तीभन्दा माथि रहेको विशाल तथा अग्लो ढुङ्गालाई नै ‘लुहारेकोट’ भनिएको हो ।

    स्थानीयको भनाइअनुसार यही ढुङ्गामा बसेर राज्य सञ्चालन, न्यायिक फैसला, प्रशासनिक बैठक तथा जनसरोकारका विषयमा छलफल हुने गर्दथ्यो ।

    यसैकारण उक्त स्थानलाई तत्कालीन शासन केन्द्रका रूपमा लिइन्छ । हाल कालीकोटको खाँडाचक्र नगरपालिकाले लुहारेकोटको इतिहासको झल्को दिने गरी वीरताको प्रतीकसहित प्रतिमाको निर्माण गरेको नगर उपप्रमुख गणेशबहादुर शाहीले बताए ।


    प्रकाशित : बिहीबार , श्रावण २८ २०८३०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार