चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका दुई हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ ।
केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठवटा नदीमा ती गोहीलाई छाडिएको हो ।
केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार पाच सय ६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै दुई सय २५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी दुई सय ११ रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा चार सय १९, सप्तकोशीमा एक सय १५, बबईमा एक सय दस, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा दसवटा गोही छाडिएको छ ।
यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको हो । सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डाबाट कोरलियका गोही यस वर्ष छाडिएको हो ।
हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको सङ्ख्या भने बढ्न सकेको छैन । गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा तीन सय ६६ वटा मात्र भेटिएको थियो ।
हाल प्रजनन केन्द्रमा पाच सयवटा गोही छन् । यस वर्ष सङ्कलन गरिएको एक सय ९६ अण्डाबाट एक सय ४६ बच्चा कोरलियका छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।
विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा दस हजार जति रहेको पाइन्छ ।
सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही थिए । नदीमा बढ्दो मानवीय चहल-पहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषणलगायतका कारण गोहीहरू प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापा मगरले बताए ।

