२०८३, कार्तिक १३ गते शुक्रबार

हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै

हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै


  • मेरोभ्यूज
  • श्रावण २६, २०८३ मंगलबार

  • हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै

     

    पाँचथर । लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका–४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ ।

    धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्त्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो ।

    दरबार क्षेत्रमा प्यागोडा शैलीको तीनतले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु. दुई करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माण भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा निर्माण भएको दरबारका संरचना भगवती बौद्ध जेभी इलामले निर्माण गरेको हो ।

    दरबारमा अवलोकनका अन्य सामग्री नभए पनि यसको आकर्षक बनोट, यहाँको भूगोल र इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षित गर्ने गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।

    उनका अनुसार यहाँ पुग्ने पर्यटकले राजा हिलिहाङको समयका बैठकस्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इँटा, खड्पालगायतका संरचनाको अवलोकन गर्न पाउँछन् ।

    त्यस्तै राजा हिलिहाङले शक्ति प्राप्त गरेको विश्वास गरिने युमा साम्माङ माङयुक्ना हिम (महारानी शक्तिपीठ)को दर्शन गर्ने प्रचलन रहिआएको उनले जानकारी दिए ।

    नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनेपछि राजा हिलिहाङ तथा उनको दरबारबारे खोजी शुरु भएको थियो ।

    हिलिहाङ फाउन्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ ।

    गाउँपालिकाले हिलिहाङ महोत्सव गर्नुका साथै कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय स्थापना गरेपछि यस क्षेत्रबारे थप चासो बढेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

    उनका अनुसार पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्विक सम्पदाबारे खोजी गरिरहेको छ ।

    समुद्री सतहबाट एक हजार आठ सय वीस मिटर उचाइमा पर्ने हिलिहाङ दरबार क्षेत्र जङ्गलको बीचमा अवस्थित छ ।

    शान्त, एकान्त र सुन्दर हरियालीमा अवस्थित यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाको पहलमा सडक विस्तार भएपछि पर्यटकको आवागमन सहज भएको छ ।

    गाउँपालिकाले पाँच वर्षअघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

    उनका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउन, हिलिहाङ राजाको शासनकालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ ।

    दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीसहित पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचार-प्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न पालिकाले लगानी गरिरहेको उनले बताए ।

    “नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर वि.सं. १८३१ साउनमा राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम (जिल्ला)लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिएको इतिहास छ ।

    वि.सं. १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बूवानका अन्तिम राजा भन्ने गरिन्छ”, अध्यक्ष अधिकारीले बताए ।

    पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उनिसँग रुष्ट पक्षले दरबार र राज्यसत्तामा दखल दिएकाले दरबारको संरक्षण हुन नसक्दा भत्किएको यहाँका ज्येष्ठ नागरिकहरू बताउँछन् ।

    अध्यक्ष अधिकारीका अनुसार उक्त दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खालहरू अझै पनि दरबार परिसरमा छन् ।


    प्रकाशित : मंगलबार, श्रावण २६ २०८३१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार