२०८३, कार्तिक १४ गते शनिबार

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण


  • मेरोभ्यूज
  • श्रावण २४, २०८३ आइतबार

  • कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

     

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाका पर्यटकीय गन्तव्यहरू कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।

    भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण गरिएको स्थानीय पथप्रदर्शक मार्कुस तामाङले जानकारी दिए ।

    रुबीभ्याली गाउँपालिका–१, लिङ्जो गाउँका बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको हर्ची पाससम्मको गोरेटो पदमार्ग निर्माण गरेका हुन् । स्थानीय आफैँले श्रमदान शुरु गरेपछि रुबीभ्याली गाउँपालिका–१ ले रु. १५ लाख उपलब्ध गराएको थियो ।

    पदमार्ग निर्माणका क्रममा चार हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भू–भागमा काम सम्पन्न गरेको वडाध्यक्ष पम्बर तामाङले जानकारी दिए । आगामी वर्षको बजेटबाट पर्यटक प्रतिक्षालय र अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।

    पदमार्ग निर्माणका क्रममा स्थानीय युवाले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोरेका थिए भने महिलाले ढुङ्गा बोकेर सिँढी बनाउन सहयोग गरेका थिए ।

    अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीय खटिएर निर्माण कार्य सम्पन्न गरेको वडाअध्यक्ष तामाङले प्रशंसा गरे । सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पास पुग्ने पर्यटकलाई सहज बनाएको छ ।

    पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने स्थानीयले अपेक्षा गरेका छन् ।

    पदमार्गले गाउँको भविष्यको बाटो कोरेको र यसबाट पर्यटन विकासमा ठूलो टेवा पुग्ने भन्दै स्थानीय अगुवा पुर्ने लामा तामाङले खुसी सुनाए ।

    राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने पाँच हजार मिटरसम्मको यो पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउन पदमार्ग महत्त्वपूर्ण माध्यम बन्नेछ ।


    प्रकाशित : आइतबार, श्रावण २४ २०८३१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार