२०८३, कार्तिक १३ गते शुक्रबार

शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न


  • मेरोभ्यूज
  • श्रावण २३, २०८३ शनिबार

  • शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

     

    काठमाडौँ । शिक्षा तथा खेलकूद मन्त्रालयको आयोजनामा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नती प्रणालीलाई समयसापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिशनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले आयोजित दुईदिने नीति कार्यशालाको पहिलो सत्र हालै सम्पन्न भएको छ ।

    ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नती: मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’विषयक कार्यशाला सिंहदरबारस्थित मन्त्रालयमा शुरु भएको हो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता तथा विज्ञहरूको सहभागिता रहेको छ ।

    पहिलो सत्रको समापन गर्दै शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदान-प्रदान आवश्यक रहेको बताए ।

    मन्त्री पोखरेलले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिँदै विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण र विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गरे ।

    मन्त्रालयका सचिव चुडामणि पौडेलले बदलिँदो परिवेशअनुसार विश्वविद्यालय सुधार गरी अन्तरराष्ट्रियस्तरको उत्कृष्टता हासिल गर्ने दिशामा कार्यशालाबाट महत्वपूर्ण निष्कर्ष आउने विश्वास व्यक्त गरे ।

    कार्यशालामा विश्वविद्यालयहरूको ज्ञान उत्पादन, अनुसन्धान, नवप्रवर्तन तथा सामुदायिक योगदानलाई प्रभावकारी बनाउन विद्यमान भर्ना तथा पदोन्नती नीतिको समीक्षा आवश्यक रहेकोमा जोड दिइयो ।

    साथै, उत्कृष्ट अभ्यासहरूको पहिचान, संस्थागत मिशनसँग मेल खाने प्रोत्साहन प्रणालीको विकास, अन्तर–विश्वविद्यालय अनुभव आदान-प्रदान तथा उच्च शिक्षामा दीर्घकालीन नीति सुधारका सम्भावनाबारे छलफल भएको थियो ।

    कार्यक्रममा अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्यालयका प्राध्यापक श्याम शर्मा मुख्य सहजकर्ताका रूपमा सहभागी भएका हुन । अनुसन्धान विभाग प्रमुख दीपक कुमार खड्का, प्राध्यापक अजय भट्टराई, सुरेन्द्र सुवेदी, डा. रेश्मा तुलाधर, स्मृति कला पन्त र रोशी लामिछानेले विषयगत सहजीकरण गरेका थिए ।

    दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति, प्राध्यापक र नीति विज्ञहरूको सहभागिता रहेको छ ।

    सहभागीहरूले अनुसन्धान, शिक्षण, नवप्रवर्तन, अन्तरविषय सहकार्य तथा सामाजिक उत्तरदायित्वलाई समान रूपमा प्रोत्साहन गर्ने नीति निर्माणको आवश्यकता औंल्याएका छन् ।

    उनीहरूका अनुसार विश्वविद्यालयहरूको गुणस्तर अभिवृद्धि, ज्ञानको सामाजिक उपयोग तथा उच्च शिक्षाको प्रभावकारिता बढाउन संकाय भर्ना तथा पदोन्नती प्रणालीलाई थप समावेशी, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक छ ।

    पहिलो सत्रमा विभिन्न विश्वविद्यालयका उपकुलपति तथा प्रतिनिधिहरूले आफ्ना संस्थाका असल अभ्यास र नीतिगत चुनौतीहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा तथा मन्त्रालयका उच्च अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

    शनिबार भएको दोस्रो सत्रमा उच्च शिक्षासम्बन्धी संस्थागत नीति मूल्यांकनका सामूहिक प्रस्तुती तथा त्यसमाथि छलफल भएको छ । कार्यशालाको निष्कर्षका आधारमा प्राप्त सुझावहरूलाई विश्वविद्यालयको संकाय व्यवस्थापन तथा उच्च शिक्षा नीतिमा सुधारका लागि आधार सामग्रीका रूपमा उपयोग गरिने मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : शनिबार, श्रावण २३ २०८३०८:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार