मनाङ । लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलो पटक एक सय ३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ ।
मर्स्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् आयोजनामध्ये एक यस आयोजना मनाङको नासोँ गाउँपालिका–८ र ९ नम्बर क्षेत्रमा निर्माण गरिँदैछ ।
‘रन अफ रिभर’ प्रणालीमा आधारित यो आयोजनाले नदीको पानी बाँधमार्फत सङ्कलन गरी सुरुङबाट विद्युतगृहसम्म पुर्याउने काम भइरहेको बुटवल पावर कम्पनीका निर्देशक प्रतीकमान प्रधानले जानकारी दिए ।
नेपालमा जलाशययुक्त आयोजनाको तुलनामा रन अफ रिभर आयोजनाको निर्माण लागत कम हुने, वातावरणीय असर तुलनात्मकरूपमा कम पर्ने तथा छिटो निर्माण गर्न सकिने भएकाले यस्ता आयोजनालाई प्राथमिकता दिइँदै आएको उनले बताए ।
यस आयोजनाको ग्रस ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर रहेको निर्माण भएको बुटवल पावर कम्पनीले जनाएको छ । आयोजनामा २० प्रतिशत बिपीसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको छ ।
आयोजनामा नेपाली साझेदार बिपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्युवाइसी इन्टरनेसनलले संयुक्तरूपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको छ ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा आयोजना विकास तथा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता गरेका थिए ।
आयोजनाको कूल लागत रु. ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु. एक अर्ब ३३ करोड स्वपूँजी लगानी गर्नेछ ।
आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
मर्स्याङ्दी नदीमा यसअघि पनि विभिन्न जलविद्युत् आयोजना निर्माण भएका छन् । जसबाट तनहुँअन्तर्गत ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना, लमजुङअन्तर्गत ७० मेगावाटको मध्ये मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’जस्ता आयोजनाले यस नदीको ऊर्जा सम्भावना प्रमाणित गरिसकेका छन् । त्यही सम्भावनालाई थप उपयोग गर्दै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना विकास गरिएको छ ।
निर्माण कार्य प्रारम्भ भएपछि पहुँच मार्ग निर्माण, सुरुङ खन्ने, बाँध संरचना बनाउने, विद्युतगृह निर्माण गर्ने तथा प्रसारण लाइन विस्तार गर्ने काम एकसाथ सञ्चालन भइरहेको निर्देशक प्रधानले बताए ।
“हिमाली भू-भागमा आयोजना निर्माण गर्नुपर्ने भएकाले प्राविधिक तथा भौगोलिक चुनौतीहरू प्रशस्त रहेका छन् । तर, चुनौतीको सामना गर्दै ऊर्जा उत्पादनलाई अगाडि बढाइएको हो”, उनले भने ।
नेपालको दुर्गम हिमाली जिल्ला मनाङको भौगोलिक बनोट जटिल छ । साँघुरा पहाडी सडक, पहिरोको जोखिम, हिमपात तथा कठोर मौसमले आयोजना निर्माणलाई कठिन बनाए पनि त्यसको सामना गर्दै कामलाई तीव्र बनाइएको उनको भनाइ छ ।
विशाल आकारका टर्वाइन, जेनेरेटर तथा अन्य उपकरणहरू आयोजनास्थलसम्म पुर्याउन निकै चुनौतीपूर्ण रहेको र कतिपय अवस्थामा सडक स्तरोन्नती गरेर मात्र उपकरण ढुवानी गर्न सम्भव भएको प्रधानले जानकारी दिए ।
“सुरुङ निर्माणका क्रममा पनि भौगर्भिक जटिलता देखिएका थिए । कमजोर चट्टान, पानी चुहिने समस्या तथा पहिरोका कारण निर्माण अवधि लम्बिने जोखिम थियो । यद्यपि प्राविधिक टोलीले यी समस्याहरू समाधान गर्दै आयोजना निर्माणलाई निरन्तरता दिएका छन्”, उनले भने ।
जलविद्युत् आयोजना निर्माणको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा पर्नेछ । आयोजना निर्माणका क्रममा सयौँ स्थानीयले रोजगारी पाएका छन् भने यहाँको यातायात, होटल, रेष्टुराँ तथा अन्य सेवा व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ ।
पर्यटकीय क्षेत्रको रूपमा रहेको मनाङमा जलविद्युत् निर्माण अवधिमा स्थानीय बजारमा वस्तु तथा सेवाको माग बढेकाले व्यवसायीले लाभ लिनसकेका छन् । सडक पहुँच विस्तार भएसँगै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज भएको नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेले जानकारी दिए ।
मनाङ मर्स्याङ्दी आयोजनाले स्थानीयवासीले आयोजना प्रभावित क्षेत्रका लागि थप पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी, स्थानीय युवालाई प्राथमिकताका साथ रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोगको अपेक्षा राखेका छन् ।
जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी स्थानीय तहसम्म पुग्ने भएकाले दीर्घकालीन विकासका लागि त्यसको प्रभावकारी उपयोग पनि उत्तिकै महत्वपूर्ण रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।
स्थानीय सरकारले रोयल्टीलाई शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन विकासमा लगानी गर्न सकेमा आयोजनाको लाभ अझ व्यापक बन्न सक्ने उनको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङ एकाइका प्रमुख ढकबहादुर भुजेलले भने, “स्थानीय सरकारसँगको समन्वयमा जलविद्युत् आयोजना स्वच्छ ऊर्जा उत्पादनको स्रोत मानिए पनि यसका वातावरणीय प्रभाव पूर्णरूपमा शून्य हुँदैनन् । नदीको प्राकृतिक बहावमा परिवर्तन आउँदा जलीय जैविक विविधतामा असर पर्न सक्छ ।”
मर्स्याङ्दी नदीमा पानी मोडिएपछि केही खण्डमा नदीको बहाव कम हुने अवस्था आउन सक्छ । आयोजना निर्माणका क्रममा आयोजनाको वन क्षेत्र, जैविक विविधता तथा स्थानीय पारिस्थितिक प्रणालीमा पर्ने असर न्यूनीकरणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार विभिन्न उपाय अवलम्बन गरिएको उनको भनाइ छ ।

