२०८३, कार्तिक १३ गते शुक्रबार

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता


  • मेरोभ्यूज
  • श्रावण २२, २०८३ शुक्रबार

  • सङ्कल्प र लगनले चुम्दै सफलता

     

    महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारी खेतीमा लागेका महोत्तरीका किसान अहिले प्रेरक व्यक्तिको उदाहरणका रूपमा उभिएका छन् ।

    ‘गरे के हुँदैन ?’ भन्ने आहान महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान सत्यदेव महतोले सङ्कल्प र लगनले चरितार्थ गरेका छन् । झन्डै १६/१७ वर्षअघि तरकारी खेतीमा जोडिएका महतोलाई अहिले न फुर्सद छ, न पछाडि फर्कनुपरेको छ । केही गर्ने हुटहुटी, सङ्कल्प र लगनले नै उनलाई यो सफलता प्राप्त भएको हो ।

    करिब एक बिघा (२० कट्ठा) जग्गामध्ये १५ कट्ठामा तरकारी खेती गरेका महतोको बारीमा परवल लहलहाएको छ । खुर्सानीका बोट फूल र चिचिलाले झमझम छन् ।

    त्यसैगरी काँक्रा, बोडी, घिरौला, झिगुनी, लौका र फर्सीका लहरामा आँख्लैपिच्छे फल लागेका छन् । सबैभन्दा रहरलाग्दो त उनको करेला खेती छ ।

    महतोले बर्सेनी पाँच/छ कट्ठामा करेला खेती गर्दै आएका छन् । मुख्य सडक छेउकै बारीमा रहेको उनको बारीको मचानमा परैबाट लटरम्म देखिने करेला हेर्न बटुवा पुग्छन् ।

    तरकारी खेतीमा जमेका महतोको विशेष पहिचान भने करेलाले नै बनाएको छ ।

    वर्षभरिमा फरक-फरक मौसम (सिजन)मा गरेर पाँच/छ कट्ठा करेला खेती गर्दै आएका उनको करेला खेती सडकबाटै देखिने हुँदा बटुवाका लागि यो प्रदर्शनीजस्तै बनेको बर्दिबास–२ बारनचौडीका उमेश आचार्य बताउँछन् ।

    “करेला खेती त अन्त पनि भएकै छ, तर सतो (सत्यदेवको बोलाउने नाउँ)को खेती हेरेपछि मन दङ्ग हुन्छ”, महतोको करेला बारी पुगेका आचार्य भन्छन् ।

    भङ्गाहा र वरपरका छरछिमेकका बस्तीमा तरकारी खेतीको कुरा चल्यो कि त्यहाँ सत्यदेवको कुरा उप्किहाल्छ ।

    महतोले मौसमअनुसारको बोडी, खुर्सानी, काँक्रा, परबल, झिगुनी, लौका, फर्सी, घिरौला र ओलसहितका तरकारी लगाउनु भए पनि उनलाई चिन्नेले करेलाकै नामबाट चिनिदिन्छन् ।

    दाजुभाइबीच अंशबण्डा भएपछि कमाउन कतार जाने सोचले राहदानी बनाएका महतो कतै ऋण नपाएपछि विलखबन्द परेका थिए ।

    अब बाँच्न तरकारी खेतीमा लाग्छु भनेर काम थालेका उनले त्यसयता कहिल्यै पछाडि फर्कनुपरेको छैन ।

    “आफूसँग भएको करिब एक बिघाजति जग्गामध्ये १५ कट्ठामा तरकारी खेती गर्छु”, महतो भन्छन्, “यसले मलाई सधैँ काममा अघि बढ्न हौसला दिएको छ ।”

    तरकारी खेती थालेपछि दुई/चार पैसाका लागि कसैसँग हात थाप्नु नपरेको र उल्टै छर-छिमेकको आपत-विपदमा सर-सहयोग गर्न पाउँदा सन्तोष मिल्ने गरेको उनले बताउँछन् ।

    पाँच कट्ठाको अन्नबाली (धान, गहुँ)ले खाने अन्न र १५ कट्ठा तरकारी खेतीले बर्सेनी १०–१२ लाख नगदको जोहो भएपछि त्यतिखेर विदेश जान ऋण नपाएर ठिकै भएछ भन्ने लाग्ने गरेको उनले बताए ।

    “मेरो करेला खेतीले मान्छेको मन तानेको छ, मलाई नाउँ नजान्नेले त ‘करेलावाला’नै भन्ने गरेका छन्”, उनले भने, “यसले कमाइ पनि राम्रै दिएको छ । अरुभन्दा करेलामा बढी रेखदेख र स्याहार पुर्याउनु पर्ने हुँदा सबैले यो खेती गर्दैनन्”, उनले भन्छन्, “मैले चाहिँ बर्सेनी गर्दै आएको छु ।”

    लागत र रेखदेख बढी गर्न परे पनि अन्य तरकारीको तुलनामा करेलाको भाउ सधैँ उच्च हुँदा कहिल्यै हरेस खान नपरेको उनको अनुभव छ ।

    बाह्रैमास उत्पादन लिन सकिने करेला राम्रो जातको पर्दा रोपेको ५० दिनमै उत्पादन दिन थाल्ने महतोले बताए ।

    माया, राजधानी, विजेता र इण्डो–अमेरिकी जातका करेलाको खेती बढी हुने गरेको उनको भनाइ छ ।

    “म चाहिँ बर्सेनी बारी फेरेर माया जातको करेला लगाउँछु”, महतोले भने । माया चाँडै फुल्ने, फल लाग्ने, रोगको प्रकोप कम हुने र लामो र ठूलो आकारको हुँदा ग्राहकको रोजाइमा पर्ने गरेको उनको अनुभव छ ।

    “दुई सय ग्राम त सरदरकै हुन्छ, मेरो बारीमा एउटा करेला तीन सय ग्रामसम्मको बाक्लै फलेको छ ।” करेला खेतीले आफूलाई चिनाएको र आर्जन पनि राम्रै भइरहेको उनले बताए ।

    आफू खेतीमा जमेपछि विदेश जान तर्खर गरेका आफ्ना पुस्ताका साथीलाई तरकारी खेतीमै डोहोर्याएको उनले सगर्व भावले बताउँछन् ।

    आफ्नै देखासिकी र प्रेरणाले बस्तीका पाँच/सात जना विदेश जान त्यागेर तरकारी खेतीमा जमेका उनले नाम कमाए ।

    पैसा नपाएर विदेश जान नपाएका साथीलाई यही काम गरे कमाइ हुन्छ भनेर हौसला दिँदै बेलामौकाको सहयोग गरेपछि पाँच/सात जना अब तरकारी खेतीमै राम्ररी जमेका महतोको भनाइ छ ।

    “मैले अब यतै काममा लाग, खेतीमा म पनि सघाउँछु भने, पाँच/सात जना लागे, राम्रै गरेका छन्”, ३६ वर्षीय महतोकै सङ्गतले तरकारी खेतीमा पसेका सोही बस्तीका उनका समवयी उपेन्द्र यादव, हसन कवारी, चन्देश्वर राय दनुवार र सरोज महतो पनि अहिले अब्बल किसानमा परेका छन् ।

    तरकारी खेतीमा लागेर सफल किसान दरिएका सत्यदेव, हसन, उपेन्द्र, सरोज र चन्देश्वरसहितका समवयीका खेतीमा भोगिएका समस्या समान छन् ।

    “भरपर्दो सिँचाइ छैन, चाहिएको ठीक्क बेला बीउबिजन, मल, औषधि पाइँदैन”, हसन भन्छन्, “तीन तहका सरकार छन् भन्छन्, हामीलाई के समस्या छ भनेर सोध्नसम्म पनि कोही आउँदैनन् ।”

    सबैभन्दा बढी समस्या भरपर्दो बीउमा पर्ने गरेको किसानको अनुभव छ । ठीक्क बेलामा बीउ, मल, सिँचाइ नपाएरै खेतीको समय नाघ्ने गरेको तीतो अनुभव यी किसानले सँगालेका छन् ।

    “बीउ भारतीय बजारकै भर हो, कहिले त राम्रै पर्छ, कहिले भने ठगिएका छौँ”, महतो भन्छन्, “हाम्रा सरकारी निकायले पायक पर्ने ठाउँमा राम्रो बीउ किन्न दिए ठूलो राहत हुन्थ्यो ।”

    त्यसैगरी कृषि प्राविधिकको सल्लाह र अनुगमन नहुँदा आवश्यक उपचार नपाएर मुखको बालीबाट हात धुनुपरेको विगतको अनुभवले किसानी पेसा दुख्याहा कर्म नै रहेछ भन्ने धेरैलाई लागेको छ ।

    किसानलाई बीउ, मल, सिँचाइ, प्राविधिक सल्लाह र बजारको सुव्यवस्था हुनसके खेतीले राम्रो कमाइ गर्न सकिने यी किसानको ठम्याइ छ ।


    प्रकाशित : शुक्रबार, श्रावण २२ २०८३१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार