२०८३, कार्तिक १४ गते शनिबार

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल


  • मेरोभ्यूज
  • श्रावण २१, २०८३ बिहीबार

  • संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

     

    गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिए पनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन् । ती कतिपय विमानस्थल सञ्चालनमा नआउँदै जीर्णमा पुगेका छन् भने बनेका संरचनाको उचित संरक्षण र रेखदेखको पर्खाइमा रहेको पाइएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशका चार विमानस्थल बन्द अवस्थामा छन् । बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ ।

    सरकारले बलेवा, हुम्डे लगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङ लगायत साहसिक खेलस्थलका रूपमा विकास गर्ने लक्ष्य लिए पनि त्यसले पनि सार्थकता पाउन सकेको छैन । प्राधिकरणले पाँच वर्षअघि रु आठ करोड २४ लाख खर्चेर बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो ।

    विक्रम संवत २०२२ मा बनेको उक्त विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विक्रम संवत २०४८ मा आएर बन्द भएको थियो । २६ वर्षपछि विक्रम संवत २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइए पनि फेरि पनि निरन्तरता पाउन सकेन । केही समय नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गरेका थिए ।

    उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।

    प्राधिकरणले विमानस्थलको ७०० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकन समेत गरेको थियो ।

    धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवलोकन गरेपछि उक्त अध्ययन समूहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जुनसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको औँल्याएको थियो । नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थलको वैकल्पिक प्रयोग गर्ने विषयमा चर्चा चले पनि कुनै ठोस योजना बन्न नसकेको बताए ।

    “विमानस्थल सञ्चालन गर्ने वा वैकल्पिक प्रयोग गर्ने भन्ने विषयमा सङ्घ सरकारको ठोस निर्णय र योजना चाहिन्छ, यसमा आवश्यक समन्वय र सहजीकरण गर्न नगरपालिका सँधै तयार छ”, उनले भने, “राज्यको लगानी खेर जान दिनुहुँदैन, कुनै न कुनै रूपमा विमानस्थललाई उपयोगमा ल्याउनुपर्छ ।”

    नियमित उडानको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकस्तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रतिनिधि विश्वस्त छन् । बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले कालोपत्र भइरहेको छ । उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

    मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको पनि डेढ दशक बित्न लाग्यो । प्राधिकरणले विक्रम संवत २०६९ मा रु नौ करोड खर्चेर हुम्डेमा विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । धावनमार्ग कालोपत्र भएपछि विक्रम संवत २०७६ भदौमा समिट एयरको विमानले सो विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

    परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासीमा अहिले त्यो उत्साह पाइदैन । गाउँपालिकाका अध्यक्ष कान्छा घलेले विमानस्थल सञ्चालनमा पहल गरिए पनि वायुसेवा कम्पनीले रुचि नदेखाएको बताए । “विमान कम्पनीलाई उडानमा आकर्षित गर्न गाउँपालिकाले पनि केही बजेट विनियोजन गर्दै आएको थियो, यस वर्षदेखि हामीले बजेट पनि राख्न छोड्यौँ”, उनले भने, “विमानस्थल अलपत्र अवस्थामा छ, राज्यका निकायले यसमा कुनै चासो दिएका छैनन् ।”

    विक्रम संवत २०३९ देखि विक्रम संवत २०६८ सम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यसयता बन्द अवस्थामा रहेको अध्यक्ष घलेले बताए । यसबीच धावनमार्ग कालोपत्रदेखि अन्य पूर्वाधारमा लगानी गरिए पनि त्यो त्यसै खेर गएको छ । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गर्थे । विक्रम संवत २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेपछि विमानस्थल बन्द भएको थियो ।

    गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सरकारको योजना अलपत्र परेको बताए । पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र वा अन्य कुनै वैकल्पिक प्रयोगमा ल्याउनु उपयुक्त हुने उनको भनाइ छ ।

    काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेकाले यस क्षेत्रमा सडक यातायात सेवा नै बढी प्रभावकारी हुने देखिएको उनले बताए । मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइसकेको छ । काठमाडौँ–मुग्लिन सडक स्तरोन्नतिको चरणमा छ ।

    विक्रम संवत २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विक्रम संवत २०३५ देखि बन्द छ । पृथ्वी राजमार्ग बनेपछि उक्त विमानस्थल बन्द भएको थियो । विमानस्थलको धावनमार्ग, घेराबार लगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकामा रहेको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ ।

    विमानस्थलको धावनमार्ग गौचरणमा फेरिएको छ । विमानस्थल क्षेत्रलाई घेराबार गरेर सुरक्षित भने गरिएको छ । प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दस करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमानस्थलमा रु दुई करोड खर्च भएको छ । सडक नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल अहिले प्रयोगविहीन अवस्थामा छन् ।

    -----


    प्रकाशित : बिहीबार , श्रावण २१ २०८३१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार