२०८३, कार्तिक १३ गते शुक्रबार

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै


  • मेरोभ्यूज
  • श्रावण २१, २०८३ बिहीबार

  • गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

     

    बागमती । गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गरिँदै आएको छ ।

    धाम हेटौँडाको राप्ती नदी तरेसँगै बजारको मुख्य प्रवेशद्वारमा अवस्थित छ । हेटौँडा उपमहानगरपालिका–१० मा यो धाम पर्छ ।

    परिसरभित्र हनुमान, शनि, शिव पञ्चायन, १०८ शिवलिङ्ग, सरस्वती, नाग मन्दिर लगायत विभिन्न धार्मिक सम्पदा रहेका छन् ।

    विक्रम संवत २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँगै यो क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए ।

    यस क्षेत्रको समग्र विकासलाई लक्षित गरी पटकपटक महायज्ञ सम्पन्न भएका छन् । महायज्ञमा सङ्कलन भएका दान रकमबाट एक धर्मशाला र ढिकुरी पाटी निर्माण गरिएको छ ।

    कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई काजक्रिया गर्न सहयोग होस् भन्ने उद्देश्यले ढिकुरी पाटी एवं क्रियापुत्री भवन निर्माण गरिएको हो ।

    व्यक्तिको आर्थिक अवस्थालाई मनन गर्दै सहुलियत शुल्कमा दाहसंस्कारको प्रबन्ध गरिएको छ ।

    विभिन्न समुदायका व्यक्तिको दाहसंस्कारका लागि रु दुई हजार र १३ दिनको काजक्रियाका लागि रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।

    धामअन्तर्गत करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएर परिसरभित्र संस्कृत वेद विद्यालय स्थापना गरिएको छ ।

    संस्कृत वेद विद्यालयमा देशका विभिन्न भूभागबाट आएका ४० जना विद्यार्थीलाई आवाशीय व्यवस्थासहित पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले बताए ।

    यस धाममा नियमित पूजाआजाका लागि पुजारी व्यवस्था गरिएको छ । धामको सम्पत्ति संरक्षण तथा रेखदेखका लागि दुई जना कर्मचारी र थप दुई सुरक्षाकर्मीले सुरक्षा दिने गरेका छन् ।

    भक्तजनले पूजामा चढाउने भेटी पुजारीको हुने व्यवस्था छ । बाला चतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । समितिको आयोजनामा १५ वर्षदेखि महिनाको अन्तिम सोमबार गङ्गा आरती गरिन्छ ।

    धाम व्यवस्थापनका लागि वार्षिक रु १० लाख आवश्यक पर्छ । सो रकम दानबाट सङ्कलन हुने गरेको छ ।

    पार्किङ सुविधा आयआर्जनमा सहयोगी बनेको छ । भारतीय धार्मिक पर्यटक यहाँ आउँछन्, स्नान गर्छन् र हेटौँडा घुमेर फर्कन्छन् । उनीहरूले गाडी पार्किङ गर्दा रु आठ सय र आन्तरिक पर्यटकसँग रु पाँच सय शुल्क लिने गरिएको छ ।

    धाम परिसरमा गौशाला स्थापनाको अवधारणा अघि बढेको छ । २०६७/२०६८ सालमा अवधारणा बने पनि मूर्तरुप हासिल हुन सकेको छैन ।

    -----


    प्रकाशित : बिहीबार , श्रावण २१ २०८३०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार