२०८३, कार्तिक १४ गते शनिबार

विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट

विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट


  • मेरोभ्यूज
  • श्रावण २१, २०८३ बिहीबार

  • विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट

     

    काठमाडौँ । जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याएको छ ।

    कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन भएको हो ।

    जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा पनि नेपाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानको सुरुवातका रूपमा लिएको बताए ।

    उनले भारतीय तथा अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उल्लेख गरे ।

    कम्पनीका अनुसार नयाँ शाखामा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध हुनेछन् ।

    मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत रैथाने नेपाली मसला नेपालबाटै आपूर्ति गरिनेछ भने अन्य ताजा सामग्री स्थानीय रूपमा व्यवस्थापन गरिनेछ ।

    अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरी परम्परागत थकाली परिकारसँगै केही नयाँ शैलीका परिकार पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

    चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मिठाइ तथा खुवा यमरी पनि मेनुमा रहनेछन् ।

    रेष्टुरेन्टमा नेपाली शैली झल्कने गरी नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृतिको झल्को दिने सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

    आधुनिक सुविधासँग नेपाली वास्तुकला र आतिथ्यलाई संयोजन गरी ग्राहकलाई नेपालकै अनुभूति गराउने लक्ष्य राखिएको छ ।

    शाखामा करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने क्षमता छ । कम्पनीका अनुसार सोही परिसरमा भारतमा पहिले नै सञ्चालनमा रहेको नेपाली कफी ब्रान्ड हिमालयन जाभाको शाखा पनि रहनेछ ।

    सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालस्थित चार शाखामार्फत सेवा दिँदै आएको छ ।

    कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीले नेपाली थकाली खानालाई अन्तर्राष्ट्रिय रेष्टुरेन्ट ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ ।

    -----


    प्रकाशित : बिहीबार , श्रावण २१ २०८३०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार