काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ । गत आर्थिक वर्षमा रु २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आवमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ । अघिल्लो आवको तुलनामा व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा बढेर रु १७ खर्ब ८१ अर्ब ८ करोड पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा यो रकम रु १५ खर्ब २७ अर्ब ९ करोड थियो ।
विभागद्वारा सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्षमा आयात १६ दशमलव २० प्रतिशतले बढेको छ । अघिल्लो आवमा रु १८ खर्ब ४ अर्ब १२ करोड बराबरको आयात भएकामा गत आवमा रु २० खर्ब ९६ अर्ब ३७ करोड पुगेको छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएकामा गत वर्ष रु तीन खर्ब १५ अर्ब २९ करोड बराबर पुगेको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ प्रतिशत रहेकामा यस्तो हिस्सा गत आवमा सामान्य बढेर ८६ दशमलव ९३ प्रतिशत पुगेको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशतबाट घटेर गत आवमा १३ दशमलव शून्य सात प्रतिशतमा सीमित भएको छ ।
सार्वजनिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ । गत आर्थिक वर्षमा रु एक खर्ब ७२ अर्ब ४२ करोड बराबरको डिजेल आयात भएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ । जसअन्तर्गत रु एक खर्ब ३२ अर्ब ७६ करोड बराबरको भटमासको कच्चा तेल आयात भएको छ ।
यसैगरी, पेट्रोल रु ७७ अर्ब २६ करोड, एलपी ग्यास रु ६० अर्ब २८ करोड, फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाम रु ५८ अर्ब ५२ करोड र स्मार्टफोन रु ४८ अर्ब ६९ करोड बराबरको आयात भएको विभागले जनाएको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा बढी रहेको छ । विभागद्वारा सार्वजनिक तथ्याङ्कअनुसार स्वदेशबाट रु एक खर्ब २८ अर्ब ७४ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । यसैगरी अलैँची रु १२ अर्ब ६४ करोड, ऊनीको गलैँचा रु १० अर्ब ३८ करोड, सूर्यमुखी तेल रु आठ अर्ब ९४ करोड र जुटका काँचो कपडा रु सात अर्ब १४ करोड बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा छिमेकी मुलुक भारतबाट मात्रै रु १२ खर्ब १० अर्ब ६० करोड बराबरको वस्तु आयात गरिएको छ भने रु दुई खर्ब ५८ अर्ब ६५ करोड बराबरको निर्यात गरिएको छ । यसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै रु नौ खर्ब ५१ अर्ब ९५ करोडभन्दा बढी रहेको देखिन्छ ।
त्यस्तै, नेपालले चीनबाट रु चार खर्ब २५ अर्ब २४ करोड बराबरका वस्तु आयात गरेकामा रु एक अर्ब ८९ करोड बराबरको वस्तु मात्रै निर्यात गरेको छ । चीनसँगको नेपालको व्यापार घाटा रु चार खर्ब २३ अर्ब ३५ करोड बराबरको छ । सार्वजनिक विवरणअनुसार गत आवमा सबैभन्दा बढी वीरगञ्ज नाकाबाट रु नौ खर्ब ८६ अर्ब ४३ करोड अर्थात् कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत बराबरको वस्तु आयात भएको छ ।
त्यस्तै, भैरहवा नाकाबाट रु तीन खर्ब चार अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगर नाकाबाट रु दुई खर्ब ४१ अर्ब ९६ करोड (११ दशमलव ५४ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट रु दुई खर्ब तीन अर्ब ५१ करोड (नौ दशमलव ७१ प्रतिशत) बराबरका वस्तु आयात भएका छन् ।
निर्यातमा पनि वीरगञ्ज नाका अग्रस्थानमा छ । यहाँबाट रु एक खर्ब १४ अर्ब ८५ करोड अर्थात् कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ । त्यस्तै विराटनगर नाकाबाट रु ८८ अर्ब ७२ करोड (२८ दशमलव १४ प्रतिशत) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट रु ३७ अर्ब ९४ करोड (१२ दशमलव शून्य तीन प्रतिशत) बराबरका वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
-----

