काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३/८४ सँगै नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।
पालिकाको वडा नं. ३ ग्वाल्टारमा पार्किङसहित ३८ कोठाको नवनिर्मित भवन रु. छ करोड ११ लाख ११ हजारको लागतमा तयार भएको हो ।
स्थानीय खेमबहादुर कार्कीले त्यस भवन निर्माणका लागि करिब रु. एक करोड मूल्य बराबरको एक रोपनी छ आना जग्गा उपलब्ध गराएका थिए ।
पालिकाका अध्यक्ष शङ्करराज बराल आफ्नै आधुनिक भवन निर्माण भएसँगै नागरिकलाई दिइने सेवा प्रवाह छिटोछरितो र सहज हुने बताए ।
सङ्घीय सरकारको अनुदान सहयोगमा विक्रम संवत २०८० पुसदेखि सुरु गरिएको सो भवन निर्माणका लागि निकै प्रयास र प्रयत्न गरिएको उनले जानकारी दिए ।
स्थापनाको नौ वर्षपछि पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । आफ्नो भवन नहुँदा यसअघि पालिका भाडाको साँघुरो घरबाट सञ्चालन हुँदै आएको थियो ।
यसअघि पालिका भाडाको साघुँरो भवनबाट सञ्चालन हुँदा सेवाग्राहीलाई असुविधा भएकामा अब त्यो समस्या अन्त्य भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।
उनले भने, “नवनिर्मित भवनबाट पालिकाले नागरिकका लागि प्रदान गर्ने सबै सेवा सहज रूपमा उपलब्ध हुनेछ ।”
पालिकाले नयाँ प्रशासनिक भवनसम्म पुग्ने सडक कच्ची रहेकाले पक्की बनाउन नक्सासहितको योजना अगाडि बढाएको छ ।
त्यस पालिकाअन्तर्गतका १, ४ र ७ नं. वडा कार्यालय भवन पनि नयाँ निर्माण भइसकेका छन् । स्वास्थ्य केन्द्रसहित विभिन्न कार्यालयका आधारभूत नयाँ भवनसमेत त्यस पालिकामा निर्माण भइसकेका छन् ।
गोलञ्जोर गाउँपालिकालाई सरकारले ‘जुनार सुपर जोन’ क्षेत्र घोषणा गरी त्यस लक्षित विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।
पालिकाले आफ्ना सबै वडा र गाउँमा सडक, विद्युत्, खानेपानी लगायतका क्षेत्रमा पहुँच विस्तार गरेसँगै अब त्यसको स्तरोन्नति र सडक कालोपत्रे कार्यक्रम अघि बढाएको छ ।
-----

