२०८३, कार्तिक १३ गते शुक्रबार

वनमा ‘रिचार्ज’ पोखरी

वनमा ‘रिचार्ज’ पोखरी


  • मेरोभ्यूज
  • श्रावण १७, २०८३ आइतबार

  • वनमा ‘रिचार्ज’ पोखरी

     

    म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण भएका छन् ।

    वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, पानी पुनरभरण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् ।

    पानी र आहारका लागि मानव बस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्ने, पोखरीमा पानी भरेर चिस्यान कायम राख्ने र डढेलो निभाउनका लागि आवश्यक पर्ने पानी सङ्कलन गर्न पोखरी बनाइएको वन अधिकृत शान्तिकुमारी शाहीले जानकारी दिइन् ।

    “पानी र आहारको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआऊन् भनेर जङ्गलमा पोखरी बनाउने कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ,” उनले भनिन्, “वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।”

    पोखरीमा पानी सङ्कलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताए ।

    बेनी नगरपालिका–५ को चिप्लरी सिमपाखो, मङ्गला गाउँपालिका–३ बरंजाको भोटेखोला, धवलागिरि गाउँपालिका–३ मुनाको दहपातल, रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानी–कालो सल्लेरी, मालिका गाउँपालिका–६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका–३ दानाको धुरीवन सामुदायिक वनमा पोखरी निर्माण भएका हुन् । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ । प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ मा १०, २०७९/८० मा ६, २०८०/८१ मा १० र २०८१/८२ मा पाँच वटा गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन् ।

    जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पुऱ्याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गर्दछन् ।

    -----


    प्रकाशित : आइतबार, श्रावण १७ २०८३०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार