कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
विगतमा पर्यटकहरू बडीमालिका घुम्न जनैपूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्र जाने गरेकामा अहिले आन्तरिक पर्यटक अन्य बेलामा पनि जान थालेका हुन् ।
चारैतिर हरियाली, भेडाबाख्रा, गाईभैँसी र घोडाका बथान चरणमा लैजाने बेला रमणीय देखिने भएकाले आन्तरिक पर्यटक जेठ महिनादेखि नै त्रिवेणी पाटन भएर बडीमालिका जाने गरेका छन् ।
त्रिवेणी पाटन समुद्र सतहबाट झण्डै चार हजार २१९ मिटरको उचाइमा पर्छ । पाटन घुम्नका लागि वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले त्रिवेणी पाटनको हरियाली दृश्यले पर्यटकको मन लोभ्याउने गरेको बताउँछन् ।
उनले “त्रिवेणीसँगै ३२ वटा सुन्दर पाटनले पर्यटकलाई रोमाञ्चकता दिने भएकाले अहिले बडीमालिका पूजाको समयमा भन्दा पनि अरु समयमा पर्यटक आउने गरेका छन्”, भने ।
त्रिवेणी पाटनमा लेकाली वन, त्रिवेणी भएर बग्ने खोला, हरियाली फाँट र पाटनमा फुलेका फूलले गर्दा पाटन पर्यटकको रोजाइमा पर्ने गरेको रास्कोट नगरपालिका–६ का मुस्कान शाहीले बताए ।
यहाँ विभिन्न प्रजातिका वनस्पति र एक सयभन्दा धेरै प्रजातिका फूल फुल्छन् । बहुमूल्य जडीबुटी पाटनमा पाइन्छ ।
बडीमालिका मन्दिरको पूजा गरेर फर्किँदै गरेका कालीकोट खाँडाचक्र नगरपालिका–५ का निर्माण व्यवसायी गणेश आचार्यले त्रिवेणी पाटनमा घुम्न जाने पर्यटकका लागि बडीमालिकाको त्रिवेणी पाटनमा धर्मशाला, स्नानका लागि एक सय आठ धारा, शौचालय, खानेपानीलगायतका संरचना निर्माण गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिए ।
-----

