बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरू पुनर्निर्माण गरिएको छ ।
दोस्रो जनआन्दोलन २०६२/६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताका सालिकहरू नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो । विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिकहरू पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।
उनका अनुसार, बीस वर्षअघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेनजी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बीपी, पुष्पलाल र सहिद सेतु विकका सालिकहरू पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ ।
सालिकसँगै चोकहरूको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरू आकर्षक देखिन थालेको नगरप्रमुख विष्टले बताए । केही दिनभित्रै सालिकहरूको शुभारम्भ गरिने उनको भनाइ छ ।
२०६२/०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए ।
-----

