२०८३, कार्तिक १४ गते शनिबार

ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी योजना निर्माण

ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी योजना निर्माण


  • मेरोभ्यूज
  • श्रावण १२, २०८३ मंगलबार

  • ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी योजना निर्माण

     

    म्याग्दी । बेनी नगरपालिका–१० ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले फेदीको मुहानबाट तानेको पानीलाई डाँडाको टंकीमा पुर्‍याएर सबै घरमा वितरणको व्यवस्था मिलाएको हो ।

    योजनाबाट ओखले टोलका ३८ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । “यसअघि टोलका सबै घरमा निजी धारा थिएनन्, माथिल्लो टोलमा पानीको समस्या थियो,” उनले भने, “खलखलेको मुहानको पानीलाई बस्तीको शिरानमा पुर्‍याएर सबै घरमा पाइपलाइनमार्फत पानी वितरण हुने व्यवस्था मिलाइएको छ ।”

    ओखलेका ५५ मध्ये तल्लो टोलका १७ घरपरिवार बाहेकले सार्वजनिक धारा र मुहानबाट व्यक्तिगत खर्चमा पाइप ल्याई प्लास्टिकको टंकीमा संकलन गरेर खानेपानी जोहो गर्दै आएका थिए । आयोजनामार्फत घरघरमा पाइपलाइन र मिटर जडान गरिएको हो । उपभोक्ताले आफू अनुकूलका धारा बनाएका छन् ।

    मुहानमा १० घनमिटर क्षमताको संकलन र शिरानमा ३० घनमिटर क्षमताको पानी वितरण गर्ने टंकी निर्माण भएको छ । मुहानको टंकीदेखि पानी वितरण गर्ने टंकीको दूरी एक सय २० मिटर रहेको छ । दुई सय ५० मिटर पाइपलाइनबाट फेदीको पानी बस्तीको टुप्पोमा लगिएको कार्यालयका सबइन्जिनियर धनेश शाहले बताए ।

    विद्युतीय उपकरणको सहायताले पानी तान्ने व्यवस्था मिलाइएको छ । उपभोक्ताको रु. चार लाख बराबरको श्रमदानसहित कुल रु. ३६ लाखको लागतमा योजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले बताए । “तीन वर्षअघि रु. ८० लाख लागत अनुमान गरेर निर्माण थालिएको आयोजनाको पाइप, पानी तान्ने उपकरण र फिटिङका सामान कार्यालयले खरिद गरेर उपलब्ध गराएको हो,” उनले भने, “उपभोक्ता समितिमार्फत काम गरेकाले अनुमानित भन्दा आधा कम बजेटमा योजना सम्पन्न भएको हो ।” सुरु भएको तेस्रो वर्षमा आयोजना सम्पन्न गरिएको कार्यालय प्रमुख ओझाले बताए ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण १२ २०८३१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार