२०८३, कार्तिक १४ गते शनिबार

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती


  • मेरोभ्यूज
  • श्रावण १२, २०८३ मंगलबार

  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

     

    झापा । राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।

    भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टी इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो ।

    चिया र सुपारीको पर्यावरणीय आवश्यकताअनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती शुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिए ।

    “सुपारीको अग्लो बोटले चिया झाडीलाई आवश्यक पर्ने हल्का छहारी दिन्छ”, उनले भने, “यसबाट एउटै बगान र एउटै लगानीबाट चिया र सुपारी दुवैको दोहोरो लाभ लिन सकिन्छ ।”

    झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै बालीको खेती एकसाथ गरेको यो पहिलोपटक हो ।

    उक्त बगानमा करिब एक दशकअघि नै चियाका बिरुवा रोपेर उत्पादन लिन थालिएको थियो भने सुपारीका बिरुवा तीन वर्षअघि मात्र थपिएको हो ।

    हाल ६० बिघा क्षेत्रफलमा ६० हजार सुपारीका बोटहरू हुर्किरहेका छन् । चियाले लगातार उत्पादन दिइरहेको भन्दै उनले सुपारीले भने अबको चार वर्षपछि मात्र उत्पादन दिन थाल्ने बताए ।

    चिया बगानभित्र सुपारी विस्तारका लागि कम्पनीले रु. एक करोड अतिरिक्त लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा कूल एक सय दुई बिघा चिया बगानमै अन्तरबालीका रूपमा सुपारी खेती विस्तार गर्ने कम्पनीको योजना छ ।

    “हाम्रो बगानमा चिया पहिल्यै थियो”, मिश्रित खेतीको अनुभव सुनाउँदै अधिकारीले भने, “भारतको आसाम भ्रमणका क्रममा त्यहाँ चिया बगानभित्रै सुपारीका बोटहरू हुर्काएको देखेपछि मलाई पनि यो सोच आएको हो ।

    हामीले आसामबाटै उन्नत जातको सुपारीको दाना ल्याएर आफ्नै नर्सरीमा बिरुवा तयार गर्यौँ । अहिले ती बोटहरू तीन वर्षका भइसके ।”

    ऐतिहासिकरूपमा भारतबाटै नेपाल भित्रिएका यी दुवै बालीको मुख्य निर्यात बजार पनि भारत नै हो । हाल नेपालका ३१ जिल्लाको २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती फैलिएको छ भने सुपारी खेती मुख्य गरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी करिब चार हजार हेक्टरमा छ ।

    मुलुकको कूल सुपारी उत्पादन र क्षेत्रफलको दुई तिहाइभन्दा बढी हिस्सा झापा जिल्लाले मात्र ओगटेकाले यसलाई ‘सुपारीको राजधानी’समेत भनिन्छ ।

    जिल्लाको करिब तीन हजार हेक्टरमा सुपारी खेती हुन्छ । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका सुपारी उत्पादनका प्रमुख केन्द्र हुन्, जहाँ रैथाने किसानहरूले परम्परागत रूपमै यसको खेती गर्दै आएका छन् ।

    पछिल्लो समय झापामा छहारी मन पराउने बालीहरू चिया, मरिच, अलैँची र केराको अन्तरबाली लगाएर एउटै जमिनबाट बहुआयामिक लाभ लिने उत्कृष्ट अभ्यास भइरहेको छ ।

    मेचीनगर नगरपालिका–४ का अगुवा किसान रवि नेपालले यसअघि नै व्यक्तिगतरूपमा यस्तो मिश्रित खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

    व्यावसायिकस्तरमा ठूलो लगानी गरेर चिया र सुपारीको मिश्रित खेती गर्ने जोखिम हडिया रियल टी इस्टेटले पहिलो पटक उठाएको हो ।

    बगानमा सुपारीका बोटहरू क्रमशः हुर्किँदै गएपछि छहारीका लागि पहिले लगाइएका सिरिसलगायतका रुखहरू हटाइएको छ ।

    कम्पनीले सुपारी खेतीको छुट्टै हेरचाह, गोडमेल र मलजलका लागि विशेष प्राविधिक तथा श्रमिकसमेत परिचालन गरेको जनाएको छ ।

    हडिया इस्टेटको यो मिश्रित खेती मोडेल सफल भएमा जिल्लाका अन्य ठूला चिया बगानहरूमा पनि सुपारी खेती विस्तारको नयाँ ढोका खुल्नेछ ।

    यसैको सिको गर्दै मेचीनगर नगरपालिका–१५ स्थित ‘वंशल टी इस्टेट’ले पनि परीक्षणका रूपमा चिया बगानभित्र सुपारीका बिरुवा रोप्न शुरु गरिसकेको छ ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण १२ २०८३०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार