भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-४ बास्तिमका वडाध्यक्ष रमेश राई यति बेला कृषि क्षेत्रमा एक उदाहरणीय व्यक्तित्वका रूपमा चिनिन थालेका छन् ।
जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषिमा सक्रिय सहभागिता जनाउँदै आएका उनले व्यावसायिक लिची खेतीमार्फत मनग्य आम्दानी गरिरहेका छन् । परम्परागत खेती प्रणालीलाई आधुनिक सोच र व्यवस्थापनसँग जोड्दै उनले गाउँमा बसेर सफल कृषि उद्यम सम्भव छ भन्ने सन्देश दिएका छन् । करिब १५ वर्षअघि सामान्य रूपमा सुरु गरिएको उनको खेती अहिले व्यवस्थित बगैँचामा रूपान्तरण भएको छ । हाल राईले करिब १० रोपनी क्षेत्रफलमा लिची र आँपको बगैँचा विस्तार गरेका छन् ।
बगैँचामा करिब ८० वटा लिचीका बोट रहेका राईले जानकारी दिए । ती बोटले पहिल्ला वर्षहरूमा मनग्य उत्पादन दिन थालेका छन् भनेर उनले बताए । एउटा बोटबाट मात्रै वार्षिक करिब रु दुई लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिए । यस वर्ष पनि अनुकूल मौसमका कारण उत्पादन राम्रो भएको भन्दै बजारमा बिक्रीका लागि तयारी भइरहेको उनले उल्लेख गरे ।
आँप र लिची खरिद गर्न ठेकेदार बगैँचामै पुग्ने गरेका छन् । जसले गर्दा उत्पादन बिक्रीका लागि बजार धाउनुपर्ने झन्झट छैन । यसले समय र लागत दुवै बचत भएको राईको अनुभव छ । “उत्पादन राम्रो भए बजार आफैँ आउँदो रहेछ”, उनले भने, “लिची खरिदका लागि ठेकेदार बगैँचा आएपछि बजारीकरणको समस्या छैन ।”
लिची र आँपमा मात्र सीमित नरही राईले बहुआयामिक खेती प्रणाली अपनाएका छन् । उनले थप १५ रोपनी क्षेत्रफलमा कागती खेती विस्तार गरेका छन् । मौसमी फलफूलसँगै बहुवर्षीय बोटबिरुवाको संयोजनले उनको कृषि व्यवसायलाई अझ दिगो र जोखिम न्यूनीकरणतर्फ उन्मुख बनाएको उनको भनाइ छ ।
जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर बचेको व्यस्त समयबीच पनि कृषिलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको राईले बताए । “काम गर्ने इच्छाशक्ति भए समय निकाल्न सकिन्छ”, उनले भने, “फलफूलका लागि अन्य बालीको जस्तो धेरै समय पनि दिन पर्दैन ।” कृषिलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभई व्यवसायका रूपमा स्थापित गर्न सकेमा प्रशस्त आम्दानीको स्रोत बन्ने उनको भनाइ छ ।
-----

