२०८३, कार्तिक १४ गते शनिबार

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता


  • मेरोभ्यूज
  • श्रावण ३, २०८३ आइतबार

  • पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

     

    पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो ।

    जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन् । जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सीप सिकाउन थालिएको छ ।

    तानसेन नगरपालिका–२ कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा नगरभित्रका विद्यार्थी, महिला, पुरुष लगायत ४० जनाले जनै बाट्ने सीप लिन थालेका छन् ।

    नयाँ पुस्ताले जनै बनाउन थालेपछि भने पुराना पुस्तामा उत्साह छाएको छ । तानसेनका ७५ वर्षीय बेद बस्याल जनै बाट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउँछन् ।

    “जनैको महत्त्व युवापुस्ताले नबुझ्दा संस्कृति सङ्कटमा पर्दै गएको, अब भने यो संस्कृति बचाउन सकिन्छ कि भन्ने लागेको छ,” उनले भने । बराङ्गदीका हरी घिमिरेलाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता थियो । तर अहिले नयाँ पुस्ताले जनै बनाउन सुरु गरेभन्दा खुसी छन् । उनी भन्छन्, “पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको थियो, अब भने केही हुन्छ कि भन्ने लागेको छ ।”

    तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणका लागि स्थानीय सरकारले अभियानकै रूपमा जनै बनाउने सीप सिकाउन लागेको वडाध्यक्ष महेश लाल श्रेष्ठले बताए । एकातिर संस्कृतिको जगेर्णा हुने र अर्कोतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिनुपर्ने वडाध्यक्षको भनाइ छ ।

    पाल्पामा झन्डै १५ वर्षअघिसम्म गाउँगाउँमा ब्राह्मणहरूका घरमा जनै बाट्ने परम्परा रहे पनि हिजोआज भने हराउँदै जान थालेको छ । जनै संस्कृतिलाई बचाइराख्न युवामा जनै बनाउने सीप सिकाउनुपर्ने छ, स्थानीय धर्मचन्द्र नेपालले बताए ।

    युवाले जनै नबनाएकै कारण बर्सेनि विदेशबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । आयातित जनै विधि पुर्याएर बाटिएको हुँदैन । जनैमा पारिने गाँठोलाई सामान्यतया बह्मागाँठो पनि भनिन्छ । हिन्दू परम्परामा जनै (यज्ञोपवीत) मा रहने उक्त गाँठोले ब्रह्मा, विष्णु, महेशको प्रतीकात्मक अर्थ बोकेको मानिन्छ । तर, किनुवा जनैलाई विधि पुर्याएर बाटिएको हुँदैन । त्यसैले किनुवा जनै नभई एकप्रकारको धागो मात्र भएको तागाधारीहरू बताउँछन् ।

    -----


    प्रकाशित : आइतबार, श्रावण ३ २०८३११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार