२०८३, कार्तिक १४ गते शनिबार

पर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

पर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’


  • मेरोभ्यूज
  • आषाढ ३०, २०८३ मंगलबार

  • पर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

     

    मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

    पर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुसन्धानका लागि आउने क्रम बढेको हो ।

    पहिला वनभोज खान र घुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुको अनुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताए ।

    अघिल्लो साता काठमाडौंको एक कलेजबाट यहाँको पानी अनुसन्धानका लागि विद्यार्थीको टोली आएको उनले जानकारी दिए ।

    प्रायः दैनिक दुई सयको हाराहारीमा आउने आन्तरिक पर्यटकले सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाउने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, हरिणलगायत जीवजन्तुले लोभ्याउने गरेको अध्यक्ष भट्टराईले उल्लेख गरे ।

    “सुनसरीको इटहरी चोकबाट १६ किलोमिटर पूर्व गएपछि हरियो वनले ढपक्कै ढाक्छ । त्यससँगै केही मिटरपर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ”, उनले भने ।

    दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताए ।

    यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुवाको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ ।

    राजमार्गसँगै जोडिएको हुनाले यहाँ आउन सहज हुने भएकाले पनि वनभोज खान आउने आन्तरिक पर्यटकको दैनिक घुइँचो हुने गरेको वन उपभोक्ता समितिका सहसचिव राजन प्रसाईंले बताए ।

    उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

    पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु. २० लाखको लागतमा पानीको फोहोरा निर्माण शुरु गरिएको समितिका सहसचिव प्रसाईंले जानकारी दिए ।

    उनका अनुसार करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् ।

    तीन वर्षअघि अष्ट्रियाबाट आएका वैज्ञानिकहरूको टोलीले अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्ल्याक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढी सङ्ख्यामा फेला पारेका समितिका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ ।

    समितिका अध्यक्ष भट्टराईका अनुसार विश्वमै दुर्लभ मानिने प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् ।

    बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए । यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।


    प्रकाशित : मंगलबार, आषाढ ३० २०८३१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार