महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुईवटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् ।
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एशियाली विकास बैंक (एडीबी)को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।
कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको फोहरमैला व्यवस्थापन केन्द्र शीघ्र सञ्चालनमा आउने दाबी गरे ।
तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उपमहानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्र निर्माण पक्षले समयमै सम्पन्न गरे पनि सञ्चालनमा आउन सकेको छैन ।
थप गरेर रु. एक अर्ब नौ करोड लागत अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो ।
“भिओको लागि माथिल्लो निकायमा पेस गरेका छौँ”, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भने, “फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो ।”
धनगढीको फोहरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सकिने छ ।
चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधिमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् ।
“तीन वर्षसम्म व्यवस्थापन केन्द्र निर्माण कम्पनी आफैँले सञ्चालन गर्नुपर्ने हुन्छ”, उनले भने, “त्यसपछि सम्बन्धित पालिकालाई हस्तान्तरण हुन्छ ।”
सुदूरपश्चिममा एडिबीले चारवटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भए पनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन ।
धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।
सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (न कुहिने, न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ ।
शुक्लाफाँटा नगरपालिकामा रु. ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।
शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण सामुदायिक वन क्षेत्र (वनहरा खोलाको पश्चिम किनार)मा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्टले फोहरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारीरुपमा भइरहेको बताए ।
“सबै वडामा फोहर राख्ने कन्टेनरहरु राखेको छ”, उनले भने, “शहरी वडाहरुमा प्रत्येक दिन फोहर सङ्कलन गरेर व्यवस्थापन केन्द्रमा लैजाने काम भएको छ ।”
फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए पनि शुक्लाफाँटा नगरपालिका सरसफाइमा जोड दिइएको उनको भनाइ छ ।

