२०८३, कार्तिक १४ गते शनिबार

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म


  • मेरोभ्यूज
  • आषाढ २७, २०८३ शनिबार

  • अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

     

    इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । वि.सं. २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे ।

    एकापट्टी पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्दैनथ्यो । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रातपर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ ।

    “हामी केटाकेटी हुँदा २०–२२ वटा भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो”, स्थानीय खगराज घिमिरेले भने, “दुई बजेपछि अन्धकार हुने । मान्छे हिँड्नै डराउँथे । भैँसी चराउनेहरू ढाप पोखरी (अन्तु पोखरीको पुरानो नाम) मा पानी खुवाएर बेलैमा भैँसीलाई गोठ फर्काउँथे ।”

    त्योबेला काशीनाथ घिमिरे (खगराजका बुवा), तारानिधि घिमिरे, तिलविक्रम नेम्वाङलगायतका सीमित घर थिए । त्यो पनि पोखरीभन्दा निकै परपर । सडक संरचना थिएन । गोरेटो बाटो थियो ।

    तर, अहिले त्यही ठाउँ विश्वमै नाम चलेको पर्यटकीय गन्तव्य भएको छ । पर्यटक डुङ्गा सयर गर्न र फिसिङ गर्न दिनहुँ आठ सयदेखि दुई हजारसम्म आउँछन् ।

    साँझदेखि ‘स्पिकर’ बज्छ । मध्यरातसम्म म्यूजिकमा झुम्छन् । खानु, पिउनु, नाच–गान गर्नु, क्याम्प फायर गर्नु अन्तुको संस्कार भएको छ ।

    चरन क्षेत्रबाट पर्यटकीय गन्तव्यसम्मको परिवर्तन २०४० सालदेखि शुरु हुन्छ । त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति थिए । जिल्ला पञ्चायतले रु. २० हजार दिएपछि पोखरी संरक्षण अभियान शुरु भयो । पोखरी संरक्षणमा स्थानीय पनि जुटे ।

    “पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो । पानी जमाइयो । सरसफाइ गरियो”, खगराजले भने, “वि.सं. २०५९ मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालयमा अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता भयो ।

    त्यही संस्थाको नेतृत्वमा २०६२/‍०६३ सालतिर नेपाल सरकारले रु. ५५ हजार र पछि रु. एक लाख ७० हजार बजेट दियो । त्यसले पर्खाल लगाउने र पानी जमाउने थप काम भएको थियो ।”

    पचासको दशकयता स्थानीय यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएर लागेका थिए । पोखरी बनेपछि स्थानीय मिलेर शुरुमा भारतको मिरिकबाट भाडामा डुङ्गा ल्याए । पछि कोलकता गएर दुई डुङ्गा किनेर ल्याएपछि सञ्चालन भयो ।

    वि.सं. २०६२/०६३ तिर तत्कालिन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालन शुरु गरेको हो । त्यतिबेला डुङ्गा समितिले सञ्चालन गरेको थियो । अहिले नगरपालिकाले लगानी बढाएर पालिका मातहत सञ्चालन गर्छ र राम्रो आम्दानी गरिरहेको छ ।

    सङ्घीयतापछि स्थानीय सरकारको नजर अन्तुमा पर्यो । नगरपालिकाले अन्तुपोखरी र अन्तुडाँडाको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब रु. पाँच करोड खर्च गरिसकेको पूर्व प्रमुख रणबहादुर राईले बताए ।

    “पोखरी वरिपरि हिँड्न नसकिने अवस्था थियो । हिलैहिलो । यहाँ आउने पर्यटक हिलोको पीरले पोखरी पस्न मन गर्दैनथे । खासै चहल-पहल थिएन”, पूर्व प्रमुख राईले भने, “वरिपरि ट्रयाक बनाइयो । बत्ती लगाउने काम भयो । अहिले एकिकृत बस्तिको रुपमा काम अघि बढेको छ ।

    वि.सं. २०७४ मा हामी जनप्रतिनिधि भएर आउँदा खरले छाएका कटेज, होमस्टे अलि-अलि थिए । अहिले ठूल-ठूला होटल बनेका छन् । अन्तुमा हामीले करिब रु. पाँच करोड खर्चेर पर्यटकीय ‘हब’ बनाएका हौँ ।”

    पोखरीभन्दा माथि अन्तुडाँडा छ, जहाँबाट झुल्केघाम हेरिन्छ । अन्तुपोखरी र अन्तुडाँडा पर्यटकका लागि पर्याय हुन् । २०७४ सालमा अन्तुडाँडासम्म पुग्ने बाटो थिएन ।

    “छिपिटारदेखि अन्तु भन्ने थियो । तर, सडक डिभिजन कार्यालयले भञ्ज्याङ (पोखरीभन्दा तलको ठाउँ)सम्म सडक लगेपछि छोडेर पैसा फिर्ता गर्न लागेको थियो ।

    स्थानीय सरकारमा हामी गएपछि सडक नभइ भ्यू टावर पुग्न सकिँदैन भनेर बाटो माथि पुर्याउने काम गर्यौं”, उनले भने, “अन्तुडाँडाको टावर अव्यवस्थित थियो ।

    सङ्घीय र स्थानीय सरकारको समन्वयमा व्यवस्थित बनाइयो । खेल मैदानबाट डाँडा पुग्ने बाटो हिलाम्मे थियो । सोलिङ/ग्राभेल गरियो । अहिले पर्यटक सजिलै माथि पुग्छन् ।”

    अन्तुका अधिकांश क्षेत्रमा बत्तीको व्यवस्था गरिएको छ । त्यो बेला पर्यटकले टिकट काटेको आम्दानी एक वर्षमा रु. एक लाख मात्र हुन्थ्यो, तर फोहरमैला धेरै ।

    “आन्तरिक राजस्व बढाउन नगरपालिकाले आफ्नै कर्मचारी राखेर वार्षिक रु. ५६ लाखसम्म राजस्व उठाउने काम गर्यो । पर्यटनसम्बन्धी मेला लगाइयो । प्रचार-प्रसारको काम व्यापक भयो”, प्रमुख राईले भने ।

    हाल सङ्घीय सरकारअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाले ‘ब्युटिफिकेशन’को काम गरिरहेको छ । अहिले सघनले चाहिँ ब्युटिफिकेशनको काम, दुई नम्बर गेटबाट आउने बाटो ढलाइ, फुट ट्रायल बनाउने काम, घेराबारा बनाउने काम र रोड विस्तारको काम गरिरहेको आयोजनाका सब-इन्जिनियर प्रकाश चापागाईंले बताए ।

    अन्तु घुम्न आउने पर्यटक अहिले अन्तुपोखरीको सेरोफेरोमा घण्टौँ बिताउन थालेको व्यवसायी बताउँछन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरे अहिले पर्यटक आउने ‘फ्लो’ बढेको बताउँछन् ।

    “दिनमा आठ सयदेखि दुई हजारसम्म पर्यटक आउँछन् । अन्तु पर्यटन व्यवसायी सङ्घमा होटल, कटेज र होमस्टे गरेर एक सय १० वटा छन् । सामुदायिक होमस्टे ५० वटा छन् । नियमित सेवा दिने ३५ वटा छन् ।” पर्यटन व्यवसायी सङ्घअन्तर्गतका होटलमा तीन सय दस जना प्रत्यक्ष रोजगार छन् ।

    चियाबारीका थुम्काभित्रका सुन्दर कटेज, होमस्टे, बोटिङ, सिजनेवल फिसिङ, घोडचढी यहाँका प्रमुख आकर्षण हुन् । हाल अन्तु पोखरीमा चारवटा डुङ्गा सञ्चालन हुन्छन् । एउटा डुङ्गामा चार जना बस्छन् । एक जनाले एक पटक पोखरी परिक्रमा गरेको रु. ५० तिर्नुपर्छ । यो आम्दानी नगरपालिकाको हो । दिनभर डुङ्गा खाली बस्न पाउँदैनन् ।

    सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ । अघिल्लो दिन आएर अन्तुपोखरी डुलघुम गर्ने, रातिसम्म नाचगान गर्ने र भोलिपल्ट बिहानै उठेर अन्तुडाँडामा झुल्केघाम हेर्ने पर्यटकको समय कार्यतालिका हुन्छ ।

    मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ । त्यहाँबाट करिब ११ किलोमिटरमा रहेको अन्तुपोखरीमा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जीप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ । अन्तुको झुल्केघामको याम भदौ अन्तिममा शुरु हुन्छ ।

    मौसम खुले पुस-माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्योदय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्योदय हेर्न बर्सेनी सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु ।

    अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी-सल्ला, झुम्का-झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ ।

    यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत बजार वरिपरि झैँ लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ ।

    भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक वर्षेनी यहाँ आउँछन्, दुई-चार रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ ।

    नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बङ्गालबाट बढी पर्यटक आउँछन् । कतिपय स्कूलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउने गरेका छन् ।

    सूर्योदय नगरपालिकाले पर्यटनबाट नै आर्थिक समृद्धि खोजिरहेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताए ।

    “अन्तु र कन्याम मात्र होइन, यहाँका हरेक वडा, हरेक गाउँ पर्यटकीय छन् । कृषि उपज, जडीबुटी, लोपोन्मुख रेडपाण्डा, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थानले सूर्योदय पर्यटकीय ठाउँ हो। कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको छ ।

    अन्तु र कन्याम हाम्रा प्रमुख गन्तव्य हुन् । तर, अन्य ठाउँलाई समेत पर्यटनमा विकास गर्दै लैजान्छौँ। हाम्रो आर्थिक समृद्धिको प्रमुख आधार नै पर्यटन हो”, उनले भने।


    प्रकाशित : शनिबार, आषाढ २७ २०८३०९:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार