बागमती । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको अवलोकन गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु आउने क्रम बढेको हो ।
पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा नेपालको १२औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।
पर्सासहित बारा र मकवानपुर जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ ।
“विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरुको क्रम बढेको छ”, निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भने, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको अवधिमा चार सय १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकहरुमा सार्क मुलुकका १४ जना र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताए ।
“सरदर वार्षिक एक हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन्”, सूचना अधिकारी भगतले भने, “खासगरी कात्तिकदेखि चैत महिनासम्म बढी पर्यटक आउँछन्, वर्षा मौसम शुरु भएपछि बन्द हुन्छ । वैशाखदेखि असोज महिनासम्म पर्यटक खासै आउँदैनन्”, उनले भने ।
निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दहहरु पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको हो ।
“निकुञ्जभित्रको हरियाली मनोरम दृश्य र वन्यजन्तुहरुले पर्यटकलाई लोभ्याइरहेको छ”, स्थानीय सुभाष बुढाथोकीले भने, “यहाँ आउने पर्यटकहरु निकुञ्जभित्र घुम्ने र हात्ती सफारी गर्ने गर्छन् ।”
पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र पानीको सहजताका लागि ठाउँ-ठाउँमा कृत्रिम पोखरी निर्माण गरेसँगै ती पोखरीहरुमा ट्याङ्करबाट पानी हालेपछि पाटेबाघसहितका वनजन्तुहरुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जको पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ ।
निकुञ्जले प्राकृतिकरुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए । कूल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान छ ।
निकुञ्ज घुम्न आउने पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन ‘भ्यु टावर’ समेत बनाइएको छ ।
यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् ।
निकुञ्जभित्र ‘फायर–लाइन’ पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्न सक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख खतिवडाको भनाइ छ ।
निकुञ्जभित्र आउने नेपाली पर्यटकका लागि रु. एक सय, सार्क मुलुकभित्रका पर्यटकका लागि रु. सात सय ५० र विदेशी पर्यटकका लागि रु. एक हजार पाच सय प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै जीप सफारीका लागि रु. दुई हजार पाच सय र गाईडका लागि रु. एक हजार पाच सय शुल्क तोकिएको प्रमुख खतिवडाले बताए ।
निकुञ्जलाई मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै प्रचार-प्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।

