२०८३, कार्तिक १४ गते शनिबार

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा


  • मेरोभ्यूज
  • आषाढ १७, २०८३ बुधबार

  • मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

     

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो ।

    रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । “मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणका लागि पुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको हो”, उनले भने, “बालबालिकालाई दैनिक बोलीचाली र जीवनयापनमा बढी प्रयोग हुने शब्दावलीलाई पुस्तकमा समेटिएको छ ।”

    मगर खाम भाषा पठनपाठनका लागि जनशक्ति तयार पार्ने र क्षमता विकास गर्ने उद्देश्यले यसअघि शिक्षकहरूलाई सात दिने तालिम प्रदान गरिएको थियो । नेपाल पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले मगर भाषाको महत्त्वलाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन मातृभाषामा पठनपाठन सुरु गरिएको बताए ।

    महादेव माध्यमिक विद्यालय, पार्वती आधारभूत, कालिका माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, शिव आधारभूत, अमर माध्यमिक विद्यालय (चिमखोला), सिद्ध आधारभूत, महेन्द्र माध्यमिक विद्यालय, शिशुकल्याण आधारभूत, अमर माध्यमिक विद्यालय (पाखापानी), हरि आधारभूत, रायखोर र जनआदर्श आधारभूत विद्यालयमा मगर भाषामा पठनपाठन सुरु भएको उनले जानकारी दिए । नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला/कालीगण्डकी नदीबाट पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको इतिहास मेटिँदै गएको जानकारहरू बताउँछन् ।

    रघुगङ्गा-१, ४, ५, ६ र ७ वडामा मगर समुदायको बाहुल्य बसोबास छ । वडा नं ८ कुइनेमङ्गले र वडा नं ६ को ठाँडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले छन्त्याल भाषामा पनि पठनपाठन गराउन पहल भएको बताए । वडा नं २ भगवती र वडा नं ३ पिप्लेमा क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको बसोबास छ ।

    -----


    प्रकाशित : बुधबार, आषाढ १७ २०८३१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार