२०८३, कार्तिक १३ गते शुक्रबार

सिरुवारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम

सिरुवारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम


  • मेरोभ्यूज
  • आषाढ १२, २०८३ शुक्रबार

  • सिरुवारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम

     

    म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ विधि अपनाइएको छ ।

    सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले अल्पकालीन रूपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने ‘बेञ्चिङ’ विधि अपनाएको हो ।

    म्याग्दीका सडकमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ विधि पहिलो पटक सिरुवारी पहिरोमा प्रयोग भएको हो ।

    अस्थायी रूपमा सिरुवारी पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालनका लागि ‘बेञ्चिङ’ विधि अपनाइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

    “सिरुवारीको तीन सय मिटर दूरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक पर्ने रु. ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रूपमा पहिरो रोकथाम गर्न बेञ्चिङ गरेको हो,” उनले भने, “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि गह/गह बनाइएको छ ।”

    गत चैत महिनाको पहिलो सातादेखि डोजर परिचालन गरेर शुरु गरिएको बेञ्चिङ गर्ने कार्य केही दिनअघि सकिएको हो । सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकतल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरुवारीको सडक माथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।

    सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीय बासिहरुबीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठूलो सिरुवारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन ।

    भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरी सम्माइएको छ ।

    करिब १७ मिटर फराकिलो पारिएको सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको भागमा पहिरो थुप्रिने ठाउँ राखिएको छ । ढल्केको जमिनलाई सिँढीजस्तो बनाएपछि प्रत्येक तहले माथिको माटोको भार सम्हाल्ने, पानी बग्ने गति घट्ने र माटो चिप्लने सम्भावना कम हुने बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी जेमकुमार बैठाले बताए ।


    प्रकाशित : शुक्रबार, आषाढ १२ २०८३०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार