काठमाडौं । नेपाल पश्मिना उद्योग संघद्वारा आयोजित पश्मिना ढाका डिजाइन बुनाइ तालिम सम्पन्न भएको छ । सोमबार काठमाडौंको हाँडीगाउँ, गहना पोखरीस्थित कार्यक्रम स्थलमा यसको समापन गरिएको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा तालिम कार्यक्रम गरिएको हो । तालिम कार्यक्रममार्फत ३० जनाभन्दा बढीले व्यावहारिक सिप हासिल गरेका छन् । १५ दिनसम्म सहभागीहरूले पश्मिना ढाका डिजाइन बुनाइ सिप सिकेका हुन् ।
तालिमको समापन कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यवाहक कार्यकारी निर्देशक नवीनराज शर्माले तथ्याङ्क प्रस्तुत गर्दै हाल ३ अर्ब ८० करोड रुपैयाँको पश्मिना निर्यात हुने गरेको जानकारी दिए । पश्मिनाको आन्तरिक तथा बाह्य माग बढ्दै गएको भन्दै उनले तालिम कार्यक्रमले उत्पादन बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अहिले ५२ देशमा पश्मिनाका सामान निर्यात हुने गरेको जानकारी दिँदै उनले नेपाली पश्मिनाको सम्भावनै सम्भावना रहेको र मागसँगै बजार रहेको उल्लेख गरे । नयाँ पुस्तालाई आकर्षित गर्न र पश्मिना उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम कार्यक्रम गरिएको उनको भनाइ छ ।
समापन कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले नयाँ-नयाँ डिजाइनमार्फत प्रशिक्षार्थीहरूले अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने पश्मिना ढाका सामानको उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसमार्फत मुलुकको निर्यात बढाउने, रोजगारी सिर्जना गर्ने र नेपालको मौलिक परम्परालाई अगाडि बढाउन सहयोग पुग्ने उनको धारणा छ । सिप नभएको मान्छे जिन्दगीमा काम नलाग्ने दृष्टान्त दिँदै उनले आफ्नो सिपलाई उद्यम र व्यवसाय विस्तारमा लगाउन सहभागीहरूलाई आग्रह गरे ।
तालिमकी कार्यक्रम संयोजक एवं पश्मिना उद्योग संघकी सचिव गीता श्रेष्ठले परम्परागत सिप र शैलीभन्दा पृथक शैलीमा जानेतर्फ सोच्न आग्रह गर्दै तालिममार्फत सोही प्रकृतिको ज्ञान उपलब्ध गराएको बताइन् । सहभागीहरूले आफैँले नयाँ डिजाइन सिकेको भन्दै भोलिका दिनमा यसलाई निरन्तरता दिएमा सबै सफल हुनसक्ने उनको दाबी छ । यसमार्फत जीविकोपार्जनमा लैजाने नयाँ डिजाइन र अन्तर्राष्ट्रिय उपभोक्ताको रुचिअनुरूप सामान बनाउनतर्फ ध्यान दिन उनले सबैलाई सुझाव दिइन् । यस क्षेत्रमा धेरै सम्भावना रहेको र सिपको मूल्य पाइने उनको धारणा छ ।
तालिमका प्रशिक्षक रामलाल श्रेष्ठले विगतका कठिनाइबारे उल्लेख गर्दै तालिम कार्यक्रमलाई उद्यमशीलतामा बदल्ने अठोटका साथ अगाडि बढ्न सबैसमक्ष आग्रह गरे ।
तालिम कार्यक्रममा भृकुटी टेक्सटाइल हाँडीगाउँकी रत्न गुरुङले स्थानको सहयोग गरेकी थिइन् । प्रशिक्षार्थीहरू अनिता महत, विनिता गौतम लगायतले आफूहरूले नयाँ-नयाँ अवधारणाका साथ सिकेको सिपलाई आगामी दिनमा व्यावहारिक रूपमा अगाडि बढाउने धारणा राखेका थिए ।
संघका उपाध्यक्ष चिरञ्जीवी काफ्लेले सञ्चालन गरेको कार्यक्रममा तालिम लिएका सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

