२०८३, कार्तिक १४ गते शनिबार

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी


  • मेरोभ्यूज
  • जेठ २८, २०८३ बिहीबार

  • सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

     

    चितवन । घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको दैनिकी फेरिएको छ । पहिले जस्तो पैदल हिँडेर बजार जानु पर्दैन । गाडीमा जान आउन पाएपछि घरको काम गर्ने समय नै बचत भएको उनी बताउँछन् ।

    स्थानीय स्वास्थ्य संस्थामा कार्यरत गुरुङले सडक सञ्जालले गाउँलेको जीवन फेरिएको बताए । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आसपास बाहेक इच्छाकामनाका अधिकांश भूगोल पहाडी क्षेत्रमा पर्दछ । यहाँ बहुसङ्ख्यक जनजाति बसोबास गर्दछन्, जसमा ३७ प्रतिशत चेपाङ छन् । कुल जनसङ्ख्याको ७५ प्रतिशत जनजातिको बसोबास छ ।

    इच्छाकामना–२ का अध्यक्ष पञ्चबहादुर चेपाङ गाउँगाउँमा सडक, विद्युत्, खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम घटेको बताउँछन् । उनका अनुसार सडक सञ्जालले छोएसँगै यहाँ उत्पादित कृषिजन्य उत्पादन सहजै बजारसम्म पुर्याउन पाएका छन् ।

    घरमै मोटरसाइकल पुग्ने भएपछि बजारमा काम गर्नेहरु पनि बिहान बेलुका घरबाटै धाउन थालेका छन् । गाउँपालिकाको पहाडी भू–भाग हुँदै शक्तिखोर–फिस्लिङ सडक बनेको छ । इच्छाकामना गाउँपालिका–२, ३ र ७ वडा हुँदै जाने सो सडक ३५ किलोमिटर लामो छ । यो सडकसँगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गसँग यहाँका भित्री सडक जोडिएका छन् ।

    गाउँपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजनाका कारण सडक र पुल बनेपछि गाउँलाई शहरसँग जोड्न सकिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ बताउँछन् । इच्छाकामनामा मात्र तीन तहले बनाएका सडकको लम्बाइ चार सय किलोमिटरभन्दा बढी छ ।

    उनले भने, “सबै टोलमा सडक पुगेको छ । जसले यहाँका नागरिकको जीवन फेरिएको छ । गाउँपालिकाले विकास बजेटको ४० प्रतिशतभन्दा बढी सडक र पुलमा खर्च गर्ने गर्छ”, गुरुङले भने, “सडक पुगेपछि बसाइँ सर्नेक्रम कम भएको छ ।”

    यहाँबाट एक वर्षमा नौ करोड रुपैयाँ हाराहारीको सुन्तला बिक्री हुने गरेको उनले जानकारी दिए ।

    गाउँपालिकाले तरकारी बोक्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सुन्तलाभन्दा बढी तरकारीबाट किसानले आम्दानी गर्ने गरेका छन् । खसी, बोका, कुखुरा मात्रै वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको बिक्री हुने गरेको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सडक सञ्जालले इच्छाकामनाका सबै गाउँ छोएपछि यहाँको पर्यटकीय क्षेत्रको विकासमा पनि टेवा पुगेको बताउँछन् ।

    धार्मिक महत्व बोक्ने मठमन्दीर, महत्वपूर्ण किल्ला उपरदाङगढी, जिल्लाकै सबैभन्दा अग्लो भू–भाग सिराइचुली जस्ता क्षेत्रमा सडक सञ्जाल पुगेपछि आन्तरिक पर्यटक बढेको बस्नेत बताउँछन् ।


    प्रकाशित : बिहीबार , जेठ २८ २०८३०७:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार