सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका-१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको उद्घाटन गरिएको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरे । जिल्लाको उत्तर–पश्चिमी सीमान्त गाउँमा कुल रु २ करोड ८४ लाख ३२ हजार ३०१ लागतमा निर्माण सम्पन्न भएको उक्त १२ कोठे भवनका लागि भारत सरकारले रु २ करोड २७ लाख ४५ हजार ८४१ अनुदान सहयोग उपलब्ध गराएको छ भने बाँकी रु ५६ लाख ८६ हजार ४६० सुरुङ्गा नगरपालिकाले व्यहोरेको हो ।
उद्घाटन समारोहमा महावाणिज्यदूत मीनाले भवन निर्माण र हाल कार्यान्वयनमा रहेको परियोजना भारत–नेपालबीचको सुदृढ र जीवन्त विकास साझेदारीको उदाहरण भएको बताए । उनले मधेस प्रदेशमा भारत सरकारको सहयोगमा शिक्षा, स्वास्थ्य, सडक, पुल, सिँचाइ तथा विद्युतीकरणलगायतका क्षेत्रमा भइरहेका विकास निर्माणबारे जानकारी गराएकी थिइन् ।
महावाणिज्यदूत मीनाले भनिन्, “भारत सरकारले हालसम्म मधेस प्रदेशमा मात्रै ८७ वटा परियोजना स्वीकृत गरेको छ, जसमध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने २५ वटा निर्माणाधीन छन् । यी ८७ परियोजनामध्ये ५४ वटा शिक्षा क्षेत्रसँग मात्र सम्बन्धित छन्, जसले शिक्षाप्रतिको हाम्रो प्रतिबद्धता देखाउँछ ।”
सप्तरी जिल्लामा मात्रै नौ वटा परियोजना सञ्चालनमा रहेका र सात वटा सम्पन्न भइसकेका उनले जानकारी दिइन् । यस्तै, भारत सरकारले मधेस प्रदेशमा २३२ वटा एम्बुलेन्स तथा ४० वटा विद्यालय बस उपलब्ध गराएको उल्लेख गर्दै सप्तरी जिल्लामा मात्रै २६ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस प्रदान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।
महावाणिज्यदूत मीनाले ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नगरप्रमुख चौधरीले विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले नगरभित्रको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका निरन्तर सक्रिय रहेको बताउँदै विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाका लागि थप सहयोग आवश्यक रहेको धारणा राखिन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा नगरपालिका-१ का वडाध्यक्ष छत्रबहादुर राउतले सबै पक्षको सकारात्मक सहकार्य, समन्वय र सक्रियताका कारण विद्यालय भवन निर्माण सम्भव भएको बताए । उनले भवन निर्माण निर्धारित समयभन्दा छ महिना अगावै सम्पन्न भएको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवका अनुसार हाल विद्यालयमा १२ कक्षासम्म ६२७ जना विद्यार्थी अध्ययनरत छन् । उनले यस वर्षको एसइई परीक्षामा विद्यालयले सुरुङ्गा नगरभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिए ।
यस विद्यालयमा सप्तरी, सिरहा र उदयपुर गरी तीनवटै जिल्लाका ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । नयाँ र सुरक्षित भवन निर्माणसँगै विद्यार्थीहरूका लागि अझ व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण तयार हुने विश्वास गरिएको छ ।
सोही विद्यालयको परिसरमा विद्यालयकै जग्गामा विगत एक दशकदेखि शिशुवारी क्याम्पस समेत सञ्चालनमा रहेको छ । ग्रामीण भेगका विपन्न तथा जेहेन्दार विद्यार्थी, खासगरी छोरी–बुहारीहरूका लागि यो क्याम्पस उच्च शिक्षा अध्ययन गर्ने भरपर्दो गन्तव्य बन्दै आएको क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाले बताए ।
-----

