२०८३, कार्तिक १४ गते शनिबार

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै


  • मेरोभ्यूज
  • जेठ १९, २०८३ मंगलबार

  • पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

     

    पर्वत । पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजजन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ ।

    यहाँको फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो । बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

    राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको छ ।

    ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ ।

    सो कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिंकलगायतका जातमा अनुसन्धान भइरहेको जानकारी दिइन् ।

    स्थानीय शक्ति कृषि तथा पशुपक्षी फार्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बिउ खेती गरिरहेका छन् । अन्य प्रजातिभन्दा यी जातका गहुँको बिउ राम्रो उत्पादन भएको जनाइएको छ ।

    अन्य खेतीभन्दा सजिलो र सिँचाइको पहुँच पुगेकाले यस क्षेत्रका किसान हिउँदेबालीअन्तर्गत गहुँ खेतीमा लागेका छन् । गतवर्ष पनि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएको थियो । यसवर्ष पनि हावापानी अनुकुल भएको भन्दै प्रजनन् बिउ खेती गरिएको स्थानीय किसान रमेश चापागाईँले बताए ।

    उनले कृषि प्राविधिक आफ्नै खेतबारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए । कुन भूगोलमा कुन खेती गर्दा उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना बृद्धि भएको उनको भनाइ छ ।

    वर्षेनी तापक्रममा भएको बृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइ अभावजस्ता कारण कृषकको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँखेतीतर्फ आकर्षण बढ्ने उनले बताए । गत वर्ष गहुँका विभिन्न आठ प्रजनन् बिउको अनुसन्धान गरिएकामा हालसम्म चार जात सिफारिसका लागि छनोट गरिएको छ ।

    अनुसन्धान पछि एनएल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जात खेतीका लागि सिफारिसको तयारी गरिएको जनाइएको छ । यी प्रजाति समुद्री सतहदेखि आठ सय मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ ।


    प्रकाशित : मंगलबार, जेठ १९ २०८३०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार