२०८३, कार्तिक १३ गते शुक्रबार

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै


  • मेरोभ्यूज
  • मंसिर १०, २०८२ बुधबार

  • कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै

     

    बाँके । नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरतरूपमा लागिपरेको छ ।

    कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका शहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो ।

    प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ ।

    कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उनले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राखे ।

    “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपर्थ्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनी सम्झिन्छन् ।

    कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भइ स्याउ सिधैँ तराईका बजारहरूमा आइपुग्छ ।

    “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ”, साहु तेली भन्छन् ।

    विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग बढेको छ ।

    नेपालगञ्जमा विगत चार दशकदेखि कर्णालीको स्याउको थोक बिक्री गर्दै आएका प्रेमलालको अनुभवमा अहिले पश्चिम नेपालको फलफूल बजारमा कर्णालीको स्याउको दबदबा छ ।

    भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकोले उपभोक्ताले यसलाई बढी रुचाएका छन् ।

    सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् ।

    हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेको छ ।

    अहिले नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक-चोकमा कर्णालीको जुम्ली स्याउले बजार तानेको व्यापारी प्रेमलालको भनाइ छ ।

    नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका शहरमा स्याउ बिक्री वितरण गर्छन् ।

    कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् ।

    नेपालगञ्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सिधा पहुँच भएसँगै कर्णालीको जुम्लालगायत जिल्लाबाट सुर्खेत र नेपालगञ्जमा स्याउ आउने गरेको छ ।

    जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले मागअनुसार देशभर कर्णालीको स्याउ बिक्री गर्ने गरेको व्यापारी प्रेमलालले बताए ।

    उनका अनुसार गत वर्ष नेपालगञ्जबाट मात्र करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो बर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ ।

    “अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ, सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ”, प्रेमलालले भने, “उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कुल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।”

    कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउखेती गरिरहेका छन् ।

    टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री गर्न सकिने व्यवसायी साहुको भनाइ छ ।

    किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उनले सरकारले स्याउखेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।


    प्रकाशित : बुधबार, मंसिर १० २०८२०९:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार