२०८३, कार्तिक १३ गते शुक्रबार

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण


  • मेरोभ्यूज
  • मंसिर ९, २०८२ मंगलबार

  • धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

     

    म्याग्दी । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ ।

    समुद्र सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहल-पहल बढेको छ ।

    पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए ।

    “गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।”

    ताराखोला गाउँपालिकाको रु. वीस लाख बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुन:निर्माणका साथै माझखर्कदेखि तिनचुलेतर्फ जाने दुई सय दस मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो ।

    स्थानीयले चन्दा सङ्कलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु. सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो ।

    तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब रु. तीन लाख सङ्कलन भएको थियो ।

    गण्डकी प्रदेश सरकारको रु. ७५ लाख र ताराखोला गाउँपालिकाको रु. दस लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुईघण्टाको बाटो वीस मिनेटमा छोटिएको छ ।

    यसैगरी मङ्गला गाउँपालिका–५ देउरालीदेखि तिनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ ।

    गण्डकी प्रदेश सरकारको रु. २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र दुईवटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

    समुद्र सतहबाट दुई हजार नौ सय २२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।


    प्रकाशित : मंगलबार, मंसिर ९ २०८२०८:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार