भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनःसञ्चालन भएको छ ।
नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो ।
दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ ।
हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए ।
“नदीको बहाव घटेसँगै जलयात्रा पुनःसञ्चालन भएको छ”, उनले भने, “अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ ।”
दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका शहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमा पार गर्न सकिने भएको छ ।
कोप्चे–बराह क्षेत्रबीचको भाडा रु. पाच सय र चतरा पुग्न रु. सात सय तोकिएको छ ।
जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई शहरका ठूला अस्पतालसम्म छिटो पुर्याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले जानकारी दिए ।
“चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ”, उनले भने, “भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब दुई सय किलोमिटर यात्रा गर्नुपर्थ्यो । अहिले जलमार्गले त्यही दूरी छोट्याइ दिएको छ ।”
गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दूरी घटाउने मात्र नभइ स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउनेछ ।

