२०८३, कार्तिक १३ गते शुक्रबार

वीरगञ्जको घण्टाघर

वीरगञ्जको घण्टाघर


  • मेरोभ्यूज
  • आश्विन २८, २०८२ मंगलबार

  • वीरगञ्जको घण्टाघर


    पर्सा । पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।

    वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ ।

    वीरगञ्ज महानगर भूमि व्यवस्था तथा शहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाएको जानकारी दिए ।

    उनले भने, “घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न सकिने अवस्था थिएन । ऐतिहासिक धरोहर भएकोले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो । अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकेको छ ।”

    महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकोले सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेट अर्थात् जालीले ढाकेर मर्मतसम्भार गरिएको बताए ।

    “अहिले घण्टाघरको वरपर लगाएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जालीसमेत हटाइसकेका छौँ”, उनले भने, “मर्मतसम्भारपछि घण्टाघर कम्तिमा पनि दस वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौँ । यद्यपि घण्टाघरभित्रका संरचना भने पुरानो हुँदै पनि गइरहेका छन् ।”

    महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब रु. वीस लाखभन्दा कममा हुने आकलन गरेको बताए ।

    “अहिलेसम्म त बिल तयार भइसकेको छैन”, उनले भने, “सो अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौँ ।”

    घण्टाघर निर्माणको ठेक्का भने महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो । वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा घण्टाघर रहँदै आइरहेको छ ।

    महाशाखा प्रमुख झाले घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको जानकारी दिए ।

    “घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकोले पनि केही समय बढी लागेको हो”, उनले भने, “हामीले मर्मतसम्भार गरेर घण्टाघर पुरानै संरचनामा ल्याइसकेका छौँ ।”

    वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको बताइन्छ ।

    त्यो बेला जापानको योनागो शहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाएको स्थानीय ज्येष्ठ नागरिकहरूको कथन छ ।


    प्रकाशित : मंगलबार, आश्विन २८ २०८२१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार