२०८३, कार्तिक १३ गते शुक्रबार

‘घटाल थान’

‘घटाल थान’


  • मेरोभ्यूज
  • जेठ २४, २०८२ शनिबार

  • ‘घटाल थान’

    डडेल्धुरा । अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटाल थान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा पूजाआजा गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

    बूढी घटालका नामले पनि प्रसिद्ध ‘घटाल थान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको छ । यसलाई यहाँको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ ।

    ‘घटाल थान’को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।

    अहिले घटाल थानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी अवलोकनका साथै यस क्षेत्रमा वनभोज खान आउने गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरी दैनिक दुई सयको हाराहारीमा ‘घटाल थान’मा पर्यटकहरू आउने गरेका उनले जानकारी दिए ।

    विशेष गरेर मङ्गलबार र शनिबार घटाल थानमा पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

    सदरमुकाम बागबजारबाट पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा घटाल थान रहेको छ । जिल्ला सदरमुकामबाट ‘घटाल थान’ पुग्न गाडीबाट १५/२० मिनेट र पैदल एक घण्टा समय लाग्छ ।

    जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्ब–टुँडा–चम्साल हो ।

    “डोटी खोलाको बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुङ्गै नौला र ऐतिहासिक हिङ्लो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द लिन सक्छन्”, उनले भने ।

    घटालको महिमा

    देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन् ।

    स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरि बालुवा लिएर खाने गरेको जनविश्वास रहिआएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष बोहराले बताए ।

    “धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले सात–आठ मुठीजति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीयरूपमा प्रचलित छ”, उनले भने ।

    मुखभरिको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्छन् । आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन् ।

    किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि घटाल बाबा स्थापना गरिएको जनविश्वास रहेको उनले जानकारी दिए ।

    पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटाल बाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयवासीले ‘पानी देऊ’ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन् ।


    प्रकाशित : शनिबार, जेठ २४ २०८२१०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार