२०८३, कार्तिक १३ गते शुक्रबार

विकट छैन ‘बोबाङ गाउँ’

विकट छैन ‘बोबाङ गाउँ’


  • मेरोभ्यूज
  • माघ ५, २०८१ शनिबार

  • विकट छैन ‘बोबाङ गाउँ’

    बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ ।

    नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ ।

    बाक्लो जनजाति र दलित समुदायको बस्ती रहेको बोबाङ गाउँमा स्थानीय सरकार स्थापनापछि स्वास्थ्य, शिक्षासहितको विकास पनि क्रमिकरूपमा भएको छ ।

    ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ विसं २०६६ मा सडकले जोडिएको थियो ।

    त्यसभन्दा अगाडिसम्म यहाँ अधिकांश नागरिकहरूले घोडा, खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे ।

    गाउँमा सडक पुगेको थिएन । जसले गर्दा स्थानीयको जनजीवन कष्टकर नै थियो ।

    घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङमा बस्ने गर्छन् ।

    कृषि र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवनशैली अहिले बदलिएको छ ।

    पन्ध्र वर्ष अगाडि बोबाङ गाउँमा सडक पुगे पनि लामो समयसम्म यातायात सञ्चालन हुन सकेको थिएन । पछिल्लो समय कच्ची सडक भए पनि दैनिक यातायात सञ्चालन हुने गर्छन् । सडकले गाउँसँगै यहाँका हजारौँ नागरिकको जीवनशैली बदली दिएको स्थानीय ७६ वर्षीय तमबहादुर कायतले बताए ।

    आफूले बोबाङ गाउँ यसरी परिवर्तन होला भन्ने कल्पना नगरेको उनको भनाइ छ । कायतले सडकले गाउँमा ठूलो परिवर्तन लिएको बताए ।

    उनले भने, “हामी त गाईभैँसी र खेतीपाती गरेर जीवन धान्यौँ, अहिलेको जस्तो सडक थिएन, गाडी चल्दैनथे, नून, तेल र चामल ल्याउनका लागि बुटवल पुग्नुपर्थ्यो, बुटवल पुग्न १२ दिन लाग्थ्यो, अहिले घरमै सबैथोक आउँछ, उति बेला पढ्ने चलन थिएन, अहिले त गाउँमा हाई स्कूल बनेको छ, यसै बालबालिकाले पढ्न पाएका छन्, हामीहरू त न पढ्न पायौँ, न बिमार लाग्दा उपचार पायौँ ।”

    स्थानीय कुलबहादुर सुनारले सडकले बोबाङ गाउँलाई बजारसँग सिधा जोड्दा विकासले गति लिएको बताए । पहिले गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर दिनभर लगाएर अस्पताल पुर्याएको स्मरण गर्दै अहिले टोलमै स्वास्थ्य संस्था सञ्चालनमा आएको उनको भनाइ छ ।

    ढोरपाटन जाँदा-आउँदा घोडामा चढ्नुपर्ने बाध्यता हटेको भन्दै अहिले दैनिक गाडी चल्दा आलु, स्याउ, सिमी र अन्य उत्पादन बजारमा पुर्‍याउन सहज भएको सुनार बताउछ ।

    राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बीचमा पर्ने बोबाङ गाउँमा पछिल्लो समय धमाधम पक्की घर भवनसमेत बन्दै गएका छन् ।

    जिल्लाको सुदूरपश्चिम मानिने यस गाउँमा सडक आएपछि नागरिकको जीवनस्तरसमेत फेरिएको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए ।

    अब यहाँका नागरिकलाई आयआर्जनसँग जोड्ने खालको कार्यक्रम ल्याउने र आत्मनिभर बनाउनतर्फ लाग्ने कायत बताउछ । पहिले विकट भनेर कर्मचारीसमेत आउन नमान्ने ठाउँमा अहिले धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।


    प्रकाशित : शनिबार, माघ ५ २०८१११:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार