२०८३, कार्तिक १७ गते मंगलबार

दलित महिला कृषि र पशुपालनमा रमाउँदै

दलित महिला कृषि र पशुपालनमा रमाउँदै


  • मेरोभ्यूज
  • माघ ३, २०८१ बिहीबार

  • दलित महिला कृषि र पशुपालनमा रमाउँदै

    सिरहा । आजभोलि जमुना सदायलाई ज्याला मजदूरीको काम खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।

    लहान नगरपालिका–१२ की जमुना बाख्रापालन र तरकारीखेतीमा रमाउन थालेको छ ।

    कृषि र पशुपालन पेसाबाट उनको परिवारको जीविकोपार्जन हुनुका साथै आम्दानी पनि भइरहेको बताउँदै उनले अहिले अरूको घरमा काम खोज्दै जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गरे ।

    तराई-मधेशका अधिकांश विपन्न दलित समुदायका युवा कामको खोजीमा भारतका विभिन्न सहरमा भौँतारिरहेका हुन्छन् । गाउँमा भएका महिला र पुरूषहरू जीविकोपार्जनका लागि अरूको घरमा ज्याला मजदूरी गर्न बाध्य छन् ।

    नाना, छाना र खानाको अभावमा रोग, भोक र शोकमा जीवन व्यतित गर्ने दलित समुदायको दैनिकीलाई कृषि कर्मबाट जमुनाले केही हदसम्म पार लगाएको हो ।

    “बाख्रा पालेकी छु । बटैया (बटिया)मा भए पनि खेती गरेकी छु । धान रोप्ने, तरकारी उब्जाउनेबाट आफूलाई खान र बजारमा लगेर बिक्री गरी आम्दानी गर्न पुगेको छ”, जानुकाले भने, “सधैँ अर्काकोमा गएर मजदूरी गर्नुभन्दा आफ्नै पौरखमा खुसी मिलेको छ ।” उनले कृषि कर्मबाट परिवारको खर्च, बालबच्चाको पालनपोषण र अध्ययन खर्च जुटाइरहेको बताए ।

    सोही टोलकी उर्मिलादेवी सदायको भोगाइ पनि जमुनाको जस्तै छ । तरकारीखेती र पशुपालनबाट दैनिक जीवनयापनको परिभाषा बदलिएको उनले बताए । जमुना र उर्मिलादेवीका छोरी अञ्जलीकुमारी सदाय र आरतीकुमारी सदायले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गरिरहेका छन् ।

    पठन-पाठनमा खासै ध्यान नदिने यहाँका दलित समुदायभित्र, त्यो पनि छोरीलाई १२ कक्षासम्म अध्ययन गराएर समाजमा एउटा उदाहरण प्रस्तुत गरेको छ जमुना र उर्मिलादेवीले ।

    “हामीले नपढेर दुःख पायौं । कालो अक्षर भैँसी बराबर भएको छ । सधैँभरि अर्काकै भरमा, मजदूरी गरी जीवन निर्वाह गर्नुपरेको छ”, पीडा पोख्दै आरती, उर्मिलादेवीले भने, “अब त्यही नियती छोराछोरीले भोग्नु नपरोस् । उनीहरूले हाम्रो जस्तो दुःख नपाऊन् ।” दुई छोराछोरीमध्ये छोरा सुरज सदाय कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

    भोटियाटोलमा १९ दलित परिवार छन् । तीमध्ये १७ परिवार मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी सामूहिक बचतसमेत गर्दै आएका छन् ।

    स्थानीय अधिकार कार्यक्रमअन्तर्गत ‘एक्सन एड’को आर्थिक सहयोगमा दलित जन कल्याण युवा क्लबले यहाँका विपन्न दलित बस्तीमा महिला समूह बनाइ आय-आर्जनका लागि कृषि र पशुपालनको उपर्युक्त वातावरण निर्माण गरिदिएको हो ।

    क्लबका सामाजिक परिचालक सुमन चौधरीका अनुसार आय-आर्जनका लागि यहाँका १७ दलित परिवारलाई गत वर्ष प्रति घर दुईवटा उन्नत जातका बाख्रा वितरण गरिएको हो । यस वर्ष आठ परिवारलाई १६ वटा बङ्गुर वितरण गरिएको उनले जानकारी दिए ।

    समूहका महिलाले मासिक रू एक सय बचत गर्ने गरेका समूहका अध्यक्षसमेत रहेकी जमुनाले बताए । उनका अनुसार हालसम्म कोषमा जम्मा रु एक लाख ५० हजार बचत भइसकेको छ । उक्त रकम सस्तो ब्याजदरमा व्यवसायका लागि पालैपालो समूहका महिलाहरूले चलाउने गरेको उनले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , माघ ३ २०८१०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार