२०८३, कार्तिक १४ गते शनिबार

अपराध न्यूनीकरण र शान्ति सुरक्षाको प्रत्याभूतिमा रौतहट प्रहरीको ‘लोभलाग्दो’प्रगति

अपराध न्यूनीकरण र शान्ति सुरक्षाको प्रत्याभूतिमा रौतहट प्रहरीको ‘लोभलाग्दो’प्रगति


  • मेरोभ्यूज
  • पौष २२, २०८१ सोमबार

  • अपराध न्यूनीकरण र शान्ति सुरक्षाको प्रत्याभूतिमा रौतहट प्रहरीको ‘लोभलाग्दो’प्रगति

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु आर्थिक वर्षको चार महिनाका अवधिमा अपराध न्यूनीकरण, चोरी निकासी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र फैसाला कार्यान्वयनमा अघिल्लो आवको सोही अवधिका तुलनामा उल्लेख्य प्रगति हासिल गरेको छ ।  

    चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा अघिल्लो वर्षको तुलनामा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ताको सङ्ख्या घटेको तथा भन्सार चोरी निकासीमा संलग्न सवारी व्यक्ति र सवारी साधन नियन्त्रण, स्रोत नखुलेको रकमसहित पक्राउ, फरार प्रतिवादी पक्राउ र प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्नलाई नियन्त्रणमा लिने सङ्ख्या वृद्धि भएको प्रहरी तथ्याङ्क छ ।

    अघिल्लो आवको चार महिनामा पाँच वटा कर्तव्य ज्यान र १४ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएकोमा चालु आवको सोही अवधिमा कर्तव्य ज्यानतर्फ पाँच  र जबरजस्ती करणीसम्बन्धी नौ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    अवैध लागुऔषध नियन्त्रण अभियान नै सञ्चालन गरेको रौतहट प्रहरीले यसअवधिमा १३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्तासँगै सोही सङ्ख्यामा फर्छ्यौट गर्न सकेको छ ।

    अघिल्लो आवको सोही अवधिमा आठ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता र सात वटा मात्रै फर्छ्यौट भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरे आफूले जिम्मेवारी सम्हालेदेखि नै भनसुन र दबाब भन्दा पनि सत्यतथ्य अनुसन्धान गरी कानूनबमोजिम कार्यान्वयन गरेकाले तुलनात्मकरुपमा प्रगति हासिल भएको बताए ।

    उनले गत चैत २५ गतेदेखि जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए । 

    प्रहरी उपरीक्षक घिमिरेले भन्सार तथा राजश्व छली, चोरी तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति लिइ कठोर कदम चालिएको जानकारी दिए । चोरी तस्करीमा संलग्न सामान, साधन र मानिस पक्राउ गरी भन्सार तथा राजश्वमा बुझाउँदै आएको, ठूला तस्करी गर्ने र गराउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरिएको उनको भनाइ छ । 

    रौतहट प्रहरीले भन्सार चोरी निकासीका सामग्री बरामद गरी रु एक करोड ९५ लाख ३९ हजार पाँच सय दुई राजश्वमा योगदान गरेको छ । ती घटनामा संलग्न एक सय १२ वटा सवारी सधान र ४४ जनालाई बरामद गरी कारबाही अघि बढाइएको प्रमुख घिमिरेको भनाइ छ । 

    ट्राफिक कारबाहीबाट साउन महिनामा रु नौ लाख २५ हजार पाँच सय, भदौमा रु आठ लाख ४३ हजार पाँच सय, असोजमा रु छ लाख ६५ हजार पाँच सय र कात्तिकमा रु ११ लाख ४९ हजार गरी कूल रु ३५ लाख ८३ हजार पाँच सय राजश्व सङ्कन भएको छ । ट्राफिक राजश्व अघिल्लो सोही अवधिको तुलनामा घटेको छ । सो अवधिमा रु ५७ लाख ३५ हजार पाँच सय ट्राफिक राजश्व सङ्कलन भएको थियो । 

    स्रोत नखुलेको रकमसहित पक्राउको घटनामा चालु आवको चार महिनामा रौतहट प्रहरीले ठूलो सफलता हात पारेको छ । यसअवधिमा स्रोत नखुलेको रु १५ लाखसहित तीन जना पक्राउ भएका छन् । अघिल्लो आवको सोही अवधिमा स्रोत नखुलेको रकमसहित पक्राउका घटना शून्य थियो । 

    चार महिनामा १५ वटा चोरीका मोटरसाइकल र दुई वटा चार चक्के सवारी साधन पक्राउ गरी सवारीधनीलाई हस्तान्तरण गरिएको छ । सो कसुरमा १८ जना पक्राउ परेका छन् । यसअवधिमा फैसला कार्यान्वयनअन्तर्गत फरार एक सय सात जनालाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अघिल्लो आवको सोही अवधिमा ८५ फरार प्रतिवादी पक्राउ परेका थिए । 

    अवैधरुपमा काठ कटान तथा गिट्टी बालुवा उत्खनन्मा संलग्न चार जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १२ वटा ट्रयाक्टर र १७ वटा अन्य सवारी सधान पक्राउ गरिएको छ । उक्त कसुरबाट कुल रु ८० लाख ७८ हजार सात सय राजश्व सङ्कलन भएको छ । 

    अपराध न्यूनीकरणसँगै सेवा प्रवाहमा व्यापक सुधार गरिएको प्रहरी प्रमुख घिमिरेको दाबी छ । प्रहरी कार्यालयमा आउने पीडितलाई सेवा प्रवाहमा सजहीकरण गरी ‘भनसुन बिना काम’ हुन्छ भन्ने विश्वास दिलाइएको उनको भनाइ छ । 

    “बिचौलियाको अभिलेखीकरण गरी त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिएको छ, गुनासो सम्बोधनका लागि कार्यालय प्रमुखसँग जनताको सिधा पहुँच स्थापित गरिएको छ, यसबाट नागरिकले सुशासन र शान्ति सुरक्षाको महशुस गरेका छन्”, उनले भने ।

    प्रहरी उपरीक्षक घिमिरेले बेलाबखत स्थानीयस्तरमा देखिने समस्यालाई स्थानीय नागरिककै सक्रियता र सहकार्यमा समाधान गरिएकोले कुनै पनि अप्रिय घटना हुन नपाएको बताए । कार्य सम्पादनमा उत्कृष्ट ठहरिएको जिल्ला प्रहरी कार्यालय रौटहटलाई गत असोजमा मधेस-प्रदेश प्रहरी कार्यालयले पुरस्कृतसमेत गरेको थियो । 

    बिगतमा साम्प्रदायिक हिंसामा परेर बर्षेनी चार पाँच जनाको ज्यान जाने गरेकोमा पछिल्लो वर्ष त्यस्ता घट्ना नभएको प्रहरीले जनाएको छ ।


    प्रकाशित : सोमबार, पौष २२ २०८११०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार